तृणमूल उम्मेद्वारको घरमा छापा… निर्लज्ज दल: ममता

शुक्रवार बिहान मेयर परिषद तथा तृणमूल कङ्ग्रेसका रासबिहारी केन्द्रका उम्मेद्वार देवाशीष कुमारको घरमा आयकर विभागले छापा मारेको छ। चुनाउको मुखमा केन्द्रीय एजेन्सीहरूको सक्रियताको आरोप लगाउँदै तृणमूल सुप्रिमो ममता ब्यानर्जी क्षुब्ध भइन्। कोचबिहारको रासमेला मैदानमा आयोजित चुनाउ सभाबाटै यस विषयको कठोर शब्दमा प्रतिवाद जनाइन्। केन्द्रको भाजपा सरकारको कठोर आलोचना गर्दै ममताले भनिन्, निर्लज्ज एउटा राजनीतिक दल छ। हाँकाहाँकी लड्न सक्दैन। डरपोक, कायर। अहिले यस्तै काम गरिरहेको छ।
यतिमै सीमित नरही कोचबिहारको मञ्चबाट आक्रोशित ममताले स्वर उचाल्दै प्रधानमन्त्रीतर्फ प्रश्न उठाइन्। तिनले भनिन्, नोटबन्दी गरेर सबैको पैसा खोस्नु भएको थियो। देशमा कालो धन फर्काउँछु भनेर भन्नुभएको थियो। के तपाईँले कालो धन फर्काउन भयो? पहिले जवाब दिनुहोस् अनि आज कालो धनको हुण्डी लिएर पश्चिम बङ्गालमा बसेर तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयमा छापा मार्दै हुनुहुन्छ। उम्मेद्वारको घरमा गएर छापा मार्दै हुनुहुन्छ। मेरो विमानमा रेड गर्न आउँदै हुनुहुन्छ। मेरा सुरक्षाकर्मीमाथि पनि छापा मार्दै हुनुहुन्छ। त्यससितै तिनले भाजपालाई डरपोक-कायरहरूको दल संज्ञा दिँदै जनतासमक्ष तिनीहरूलाई अस्वीकार गर्न आह्वान गरिन्।
उल्लेखनीय छ, आज बिहान रसबिहारीका निवर्तमान विधायक तथा तृणमूल उम्मेद्वार देवाशीष कुमारको घरमा बिहान लगभग 5.30 बजी आयकर विभागका अधिकारीहरूको एक टोली पुगेको थियो। घरसितै मनोहर पोखरीस्थित तृणमूलको चुनाउ कार्यालयमा आयकर विभागको अर्को टोलीले पनि छापा माऱ्यो। त्यहाँ नियम विपरीत प्रवेश गरेर कागजात जाँच गरिएको तृणमूल पक्षले आरोप लगाएको छ। देवाशीष कुमारलाई घरमै सोधपुछ भइरहेको जानकारी प्राप्त भएको छ। सूत्रअनुसार, तृणमूल उम्मेद्वारको घर वा चुनाउ कार्यालय मात्रै होइन तिनको ससुराल घरमा पनि आयकर विभाग पुगेको छ। साथै दक्षिण कोलकाताका एक तृणमूल नेताको घरमा पनि आज ईडीले छापा मारेको छ।
यस सन्दर्भमा भाजपातर्फ इङ्गित गर्दै तृणमूल सुप्रिमो ममताले भनिन्, तिनीहरूलाई थाहा छ कि जनताको मतले जित्ने क्षमता छैन। त्यसैले केन्द्रीय बल, आयकर, ईडी, सीबीआई, सम्पूर्ण भारत सरकार, भाजपा शासित सबै राज्यका मानिसहरू यहाँ आएर बसेका छन्। त्यसपछि पनि हेर्नुहोस्, म एकलै लड़िरहेकी छु। तर म एकलै छुइनँ। मेरो साथमा 100 प्रतिशत जनता छन्। मोदी सरकारले जतिसुकै केन्द्रीय एजेन्सीमार्फत हमला गराए पनि तिनी र तिनको दल कहिल्यै नझुक्ने ममताले मन्तव्य गरिन्। तृणमूल सुप्रिमोको हुँकार भरिन्, जे गरे पनि हाम्रो सरकार फेरि आउनेछ।

By Paromita