चुनाउ लड़ाईँमा छैनन् अशोक, सिलगढ़ीको मैदानमा यसपल्ट गौतम

विद्यार्थी राजनीतिबाट आरम्भ गरेर तिनको सम्पूर्ण राजनीतिक जीवन सिलगढ़ी केन्द्रित रह्यो। तर काउन्सिलर चुनाउबाहेक पहिलोपल्ट सिलगढ़ीमा चुनाउ लड्दैछन् गौतम देव! 1989 देखि निरन्तर सिलगढ़ी नगरपालिकाका काउन्सिलर रहेका तिनी डाबग्राम–फूलबारीबाट दुईपल्ट जितेर मन्त्री पनि बने। तैपनि आफ्नै शहर सिलगढ़ी विधानसभाको उम्मेद्वार बन्न गौतम देवलाई किन साढ़े तीन दशक लाग्यो भन्ने प्रश्नले सिलगढ़ी तताएको छ। दक्षिणपन्थी राजनीतिमा संलग्न भए पनि तिनले राजनीतिक रूपमा अशोक भट्टाचार्यलाई सम्मान गर्छन् भन्ने धेरैको मत छ। त्यसैले कुनै हेभिवेटविरुद्ध प्रतिस्पर्धा गर्न नचाहेर तिनले सधैँ सिलगढ़ी विधानसभा टारेका थिए। सन् 2021 मा ती वरिष्ठ सीपीएम नेता आफ्नै शिष्य शङ्कर घोषसित पराजित भएका थिए। त्यो बेला चुनाउको केही दिनअघि मात्र सीपीएम छोड़ेर भाजपा प्रवेश गरेका थिए शङ्कर। यसपल्ट अशोक उठेनन्। आफ्नै शिष्यलाई कठोर चुनौती दिन गौतम उत्रिएका हुन् कि भन्ने प्रश्न उठेको छ। यस प्रश्नको तिनले सिधा उत्तर दिएका छैनन् तर अशोक भट्टाचार्यप्रति आफ्नो सम्मान लुकाएका पनि छैनन्। गौतमका शब्दमा, म अशोक दालाई सम्मान गर्छु। तिनले सिलगढ़ीका लागि केही पनि गरेनन् भन्ने म कहिल्यै भन्न सक्दिनँ।
यसपटकको चुनाउमा शङ्करलाई दबाउमा पार्न गौतम देवले विभिन्न मुद्दा उठाइरहेका छन्। मल सम्बन्धी आन्दोलनमा तिनी अघि बढ़ेका थिए। केही दिनपछि भाजपा र यहाँसम्म कि वामपन्थीहरू पनि यस विषयमा मुखर भए। शहरको गुरुङ बस्तीमा नाबालिकाको आत्महत्याको घटनामा उक्साएको आरोपमा शङ्कर धर्नामा बसेपछि एक घण्टाभित्रै उक्त घरमा पुगेर मृतक परिवारको साथमा उभिएका गौतमले पुलिसलाई फोन गरेर सार्वजनिक रूपमा आलोचना गर्दै मिडियाको ध्यान आफूतिर खिचे। चुनाउ घोषणा भएपछि टक टु मेयर विषयमा शङ्करले आयोगमा उजुरी दिए। त्यसपछि गौतमले घरमै बसेर टक टु गौतम आरम्भ गरे। तृणमूल नेतृत्वले सिलगढ़ीका लागि छुट्टै घोषणा–पत्र सार्वजनिक गरेपछि भाजपा पनि प्रत्युत्तरमा घोषणा–पत्र ल्याउन बाध्य भयो। एक समयका वामपन्थी शङ्करको देब्रे हातमा अझै चे गेवाराको ट्याटु छ। समयअनुसार त्यसै ट्याटुको कथा सुनाउँदै चुनाउ सभामा गौतमले तिनलाई व्यङ्ग्य पनि गर्छन्।
यस्तो स्थितिमा पनि सिलगढ़ीमा वामपन्थीहरूको मतको कमी छैन। सन् 2021 मा शङ्करको आकस्मिक दल परिवर्तनका कारण वाम मतको ठूलो हिस्सा भाजपातर्फ सरेको थियो। त्यो मत फिर्ता ल्याउन सत्तरी वर्ष पार गरिसकेका अशोक भट्टाचार्य पार्टीका उम्मेद्वार शरदिन्धु चक्रवर्तीसित शहरभरि सक्रिय छन्। आफ्ना कामहरूको उदाहरण दिँदै तिनले पनि मत मागिरहेका छन्। उम्मेद्वार शरदिन्धु पनि आत्मविश्वासी छन्। तिनले भने, वाम मत फेरि हामीतर्फ फर्किरहेको छ।

By Paromita