हिमन्तको जय बाङ्गला नाराले स्तब्ध्त नेता-कार्यकर्ताहरू

राज्यका विपक्षी दलका नेता शुभेन्दु अधिकारीको प्रचारमा जय बाङ्गला नारा लगाइएको तृणमूल कङ्ग्रेसविरुद्ध आरोप उठेको थियो। हुड खुल्ला गाड़ीमा क्रुद्ध शुभेन्दु अधिकारीलाई क्षुब्ध बनेर विरोध जनाउँदै गरेको देखिएको थियो। बिहीवार त्यसै जय बाङ्गला नारा असमका मुख्यमन्त्री हिमन्त विश्वशर्माले नै लगाएका थिए। आज सिलगढ़ी महकुमाको खोरीबारीको बतासीमा आयोजित भाजपाको जनसभामा मुख्य वक्ता थिए असमका मुख्यमन्त्री। आफ्नो भाषणको अन्त्यतिर तिनले भने, असममा यसपालि भाजपा सेञ्चुरी पार गर्नेछ। पश्चिम बङ्गालमा पनि डबल सेञ्चुरी पुग्नेछ। जय हिन्द, वन्दे मातरम्, जय बाङ्गला। यो जय बाङ्गला नारा सुनेर भाजपा नेता-कार्यकर्ताहरू नै स्तब्ध भए। हिमन्तको स्वरमा उक्त नारामा धेरैले साथ दिएनन्।
लामो समयदेखि भाजपा पक्षले जय बाङ्गला नारा वास्तवमा बङ्गलादेशको भएको र तृणमूलले प्रयोग गर्ने गरेको दाबी गर्दै आइरहेको छ। यसकारण भाजपाले यसप्रति आपत्ति जनाउँदै आएको हो। तर आज हिमन्तले जय बाङ्गला नारा लगाएको विषयमा भाजपा पक्षको तर्क छ कि तिनले तृणमूलको नारा भनेका होइनन्। राज्यलाई सम्मान जनाउँदै जय हिन्द र वन्दे मातरम्-पछि जय बाङगला भनेका हुन्। भाजपा उम्मेद्वार दुर्गा मुर्मूले भनिन्, पश्चिम बङ्गाललाई सम्मान जनाउन जय बाङ्गला नारा भनिएको हो। यो भाजपाको नारा होइन। जनसभामा बारम्बार पनि यसको प्रयोग गरिएको थिएन। खोरीबारी अनुसूचित जनजातिका लागि आरक्षित क्षेत्र हो। त्यहाँ लगभग 21 वटा चियाबारी छन्। आजको सभामा ती चियाबारीका श्रमिकहरूको उपस्थिति कम देखिएको थियो। यद्यपि भाजपा पक्षले भीड़ भएको दाबी गरेको छ। चिया श्रमिकहरूलाई सम्बोधन गर्दै हिमन्तले भने, असममा चियाबारीका श्रमिकलाई 280 रुपियाँ मजदुरी दिइन्छ। चुनाउको समयमा 450 रुपियाँ दिने प्रतिबद्धता गरिएको छ। जमीनको पट्टा दिइएको छ। एक वर्षभित्र 4-5 लाख रोजगारी दिनेछौँ। आमाहरूको ऋण पनि हामी तिर्नेछौँ। तर यस राज्यमा चिया श्रमिकहरूले त्यस्तो सुविधा पाउँदैनन्।
भाजपा सत्तामा आएपछि मासु–माछा खान बन्द गराइनेछ भन्ने आरोप तृणमूल नेताहरूले बारम्बार लगाउँदै आइरहेका छन्। हिमन्तले आज भने, असमका मानिसहरू पश्चिम बङ्गालका मानिसहरूभन्दा बढ़ी माछा-मासु खान्छन्। तिनले भने, असममा दस वर्षदेखि भाजपा सरकार छ। त्यहाँ माछा-मासु बन्द भएको छैन। असमका मानिसहरूसित माछा-मासु खाने प्रतिस्पर्धा गर्न यहाँका मानिसहरूले सक्दैनन्। अर्कातिर सोही दिन अलिपुरद्वार जिल्लाको कालचिनी क्षेत्रमा भाजपा उम्मेद्वार विशाल लामाको समर्थनमा मालङ्गी चियाबारीको हाटखोला मैदानमा आयोजित सभामा पनि हिमन्त उपस्थित थिए। त्यहाँ झारखण्डका पूर्व मुख्यमन्त्री बाबुलाल मराण्डी पनि साथमा थिए। आफ्नो भाषणमा हिमन्तले भने, भाजपा यस राज्यमा सत्तामा आएपछि एकै दिनभित्र बङ्गलादेशी घुसपैठियाहरूलाई राज्य तथा देशबाट हटाइनेछ। घुसपैठको मुद्दामा तिनले मुख्यमन्त्री ममता बन्द्योपाध्यायलाई कटघेरामा उभ्याए। यहाँ पनि चिया श्रमिकहरूको मजदुरी बढ़ाउने प्रतिबद्धता व्यक्त गरे। माछा-मासु बन्द गर्ने प्रसङ्ग यहाँ पनि उठाउँदै हिमन्तले ममतालाई असम आउने निमन्त्रणा दिँदै भने, असम आउनुहोस्, तपाईँलाई माछा, पाठा र खसीको मासु खुवाउनेछु। तपाईँभन्दा म दुई टुक्रा बढ़ी खानेछु। साथै गोर्खाहरूको विषयमा तिनले भने, पहिले असममा गोर्खाहरूलाई विदेशी भनिन्थ्यो। भाजपा सरकार आएपछि असमका गोर्खाहरूलाई यस देशका नागरिक मानिएको छ। बङ्गलादेशबाट आएका मुस्लिमहरूले यहाँ सजिलै जमीन पाइरहेका छन् र तिनीहरूले बाबरी तथा शाजहान मस्जिद निर्माणको माग उठाइरहेका छन्। तर यस देशमा कुनै बाबरी मस्जिद नबन्ने तिनले मन्तव्य गरे।

By Paromita