लगातार भइरहेको वर्षाका कारण सिक्किम फेरि प्राकृतिक प्रकोपको चपेटामा परेको छ। यसपटक पश्चिम सिक्किमको महत्वपूर्ण रिम्बी–युक्सोम सडक भीषण पहिरोका कारण प्रभावित भएको छ। पहाडको ठूलो हिस्सा खसेर सडकभरि माटो, ढुङ्गा तथा ठूला भग्नावशेष थुप्रिएपछि उक्त मार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय स्रोतका अनुसार पहिरोको व्यापकताका कारण सडकको ठूलो भाग क्षतिग्रस्त भएको छ। यातायात मात्र नभई पहिरो आसपास रहेका केही घरहरू समेत जोखिममा परेका छन्। पहाडको भिरालो भाग क्रमशः कमजोर बन्दै गएकाले थप पहिरो खस्ने सम्भावनाले स्थानीय बासिन्दामा चिन्ता बढेको छ। वर्षायाममा सिक्किमका पहाडी सडकमा पहिरो जाने घटना सामान्य भए पनि पछिल्लो पहिरोको आकार र अवस्थाले स्थानीयको चिन्ता थप बढाएको छ। रिम्बी–युक्सोम सडक स्थानीय बासिन्दाका साथै पर्यटकहरूका लागि पनि महत्वपूर्ण यातायात मार्ग हो। सडक बन्द भएपछि स्थानीय मानिस तथा पर्यटकहरूलाई आवतजावतमा ठूलो समस्या भएको छ। सबैभन्दा ठूलो चिन्ताको विषय पहिरो गएको क्षेत्र अझै पूर्ण रूपमा सुरक्षित नरहेको आशंका हो। सडकछेउका घरमा बसोबास गर्ने स्थानीयहरू त्रसित अवस्थामा छन्। उनीहरूले विज्ञ टोलीमार्फत पहाडको भिरालो भागको अवस्थाको तत्काल अध्ययन गरी आवश्यक सुरक्षात्मक उपाय अपनाउन माग गरेका छन्। स्थानीय बासिन्दाका अनुसार हरेक वर्षायाममा यस क्षेत्रमा यस्तै समस्याको सामना गर्नुपर्छ। सडकबाट पहिरोको भग्नावशेष हटाएर यातायात सञ्चालन गर्नु मात्र दीर्घकालीन समाधान नहुने उनीहरूको भनाइ छ। भविष्यमा एउटै क्षेत्रमा बारम्बार पहिरो जान नदिन पहाड संरक्षण तथा स्थायी प्रतिरोधात्मक संरचना निर्माण गर्न आवश्यक रहेको उनीहरूले बताएका छन्। हाल प्रशासन तथा सम्बन्धित निकायले परिस्थितिमाथि निगरानी गरिरहेका छन्। मौसममा सुधार नआएसम्म र पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित घोषणा नगरिएसम्म उक्त सडकबाट यात्रा गर्नु जोखिमपूर्ण मानिएको छ। अब रिम्बीक–युक्सोम सडकमा कहिलेदेखि पुनः नियमित यातायात सञ्चालन हुन्छ भन्ने प्रतीक्षामा स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा पर्यटकहरू रहेका छन्।
सिक्किममा फेरि पहिरोको ताण्डव, रिम्बी–युक्सोम सडक सम्पर्क विच्छेद! पहाडको छेउमा रहेका घरहरू जोखिममा
