कुमानी मोड र गैरीबासका जनताले दिएको आत्मीय स्वागतप्रति दार्जिलिङका सांसद राजु विष्टले आभार व्यक्त गरेका छन्। सांसद विष्टले आज सामाजिक सञ्जालमार्फत कुमानी मोड र गैरीबास पहाड र समथर भूभागको संगममा अवस्थित रहेको तथा डुवर्सको हरियाली जंगल, घुमाउरा सडक र प्राकृतिक सौन्दर्यले यस क्षेत्रलाई विशेष बनाएको उल्लेख गरेका छन्। तर, यस क्षेत्रको सबैभन्दा ठूलो विशेषता यहाँका जनताको माया, आत्मीयता र न्यानोपन रहेको उनले बताएका छन्। उनले भाजपा तथा गठबन्धन दलका कार्यकर्ताहरूलाई निरन्तरको माया, समर्थन र समर्पणका लागि धन्यवाद दिँदै उनीहरूको समर्पणले जनताको हित र क्षेत्रको विकासका लागि अझ मेहनत गर्ने प्रेरणा मिलेको बताएका छन्। यसैबीच, आज झालोङमा आयोजित कार्यक्रममा उनले रोंगो–जलढाका क्षेत्रका जनतालाई सम्बोधन गरेका थिए। कार्यक्रममा दार्जिलिङ र कालेबुङ जिल्लामा WBSEDCLद्वारा सञ्चालन गरिएका विभिन्न CSR पहलहरूको उद्घाटन गरिएको थियो।
कुमानी मोड र गैरीबासका जनताको आत्मीय स्वागतप्रति आभार : राजु विष्ट
