गोरामुमो दार्जिलिङ ब्रान्च कमिटीको सांगठनिक सभा सम्पन्न ,२३ अगस्तमा दागोपाप सम्झौता दिवस पालन गर्ने निर्णय

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जिलिङ ब्रान्च कमिटीको एक महत्वपूर्ण सांगठनिक सभा मारवाडी सहायक समिति भवनमा सम्पन्न भएको छ। सभा दार्जिलिङ ब्रान्च कमिटीका अध्यक्ष एम.जी. सुब्बाको अध्यक्षतामा सम्पन्न भएको हो। सभाको सञ्चालन पूरण राईले गरेका थिए।
सभालाई सम्बोधन गर्दै गोरामुमो दार्जिलिङ ब्रान्चका प्रमुख सल्लाहकार श्री प्रणय राईले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक गतिविधि तथा गोर्खा जाति र पहाडको भविष्यसँग जोडिएका महत्वपूर्ण विषयहरूमाथि आफ्नो धारणा राखे। उनले पार्टीको सांगठनिक आधारलाई अझ सुदृढ बनाउँदै जनताको मुद्दा र अधिकारका विषयमा निरन्तर सक्रिय भएर अघि बढ्नुपर्नेमा जोड दिए। सभामा आगामी २३ अगस्तमा दागोपाप (दार्जिलिङ गोर्खा पार्वत्य परिषद्) सम्झौता दिवस पालन गर्ने सम्बन्धमा पनि महत्वपूर्ण छलफल भएको थियो। गोर्खा जातिको राजनीतिक इतिहासमा दागोपाप सम्झौताको विशेष महत्व रहेको उल्लेख गर्दै उक्त दिवसलाई सांगठनिक रूपमा स्मरण तथा पालन गर्ने निर्णय गरिएको छ। सभामा पार्टीको आगामी कार्यक्रम, सांगठनिक विस्तार तथा समष्टि र शाखाहरूलाई थप सक्रिय बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।गोरामुमोले गोर्खा जातिको राजनीतिक अधिकार, पहिचान, अस्तित्व र माटोको सुरक्षाका लागि आफ्नो सांगठनिक गतिविधिलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

By Paromita