गोरामुमो केन्द्रीय समितिको सभा सम्पन्न,तिलक देवान र भानु कान्ता घिसिङ केन्द्रीय समिति सदस्यमा चयन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको महत्वपूर्ण सभा सम्पन्न भएको छ। गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा सम्पन्न सभालाई केन्द्रीय समिति उपाध्यक्ष एन.बी. छेत्रीले सञ्चालन गरेका थिए। सभाबारे केन्द्रीय कार्यालय सचिव अमर तामाङले जानकारी दिएका छन्। सभामा आगामी २२ अगस्त २०२६ मा सिलिगुडीमा भारत सरकारद्वारा आह्वान गरिएको त्रिपक्षीय बैठकका सम्बन्धमा केन्द्रीय समितिका सदस्यहरूलाई विस्तृत जानकारी गराउँदै त्यस विषयमा व्यापक छलफल गरिएको थियो। बैठकमा उक्त त्रिपक्षीय बैठकसँग सम्बन्धित विषयहरूका साथै पार्टीको भावी राजनीतिक रणनीति, राजनीतिक गतिविधि तथा सांगठनिक विषयहरूबारे पनि गहन विचार-विमर्श गरिएको बताइएको छ।
यसैक्रममा पार्टीको सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउँदै केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउन नयाँ सदस्यहरू चयन गर्ने प्रस्ताव सभामा प्रस्तुत गरिएको थियो। उक्त प्रस्ताव सर्वसम्मतिले पारित गर्दै तिलक देवान र भानु कान्ता घिसिङलाई गोरामुमो केन्द्रीय समिति सदस्यका रूपमा सर्वसम्मतिले चयन गरिएको छ।
नवनिर्वाचित केन्द्रीय समिति सदस्यहरूलाई पार्टी अध्यक्ष मन घिसिङले खदा लगाई केन्द्रीय समितिमा स्वागत तथा शुभकामना व्यक्त गरेका थिए। सभालाई सम्बोधन गर्दै अध्यक्ष मन घिसिङले आगामी दिनहरूमा पार्टीले विभिन्न राजनीतिक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिरहेको जानकारी गराउँदै ती कार्यक्रमहरूलाई सफल बनाउन केन्द्रीय समिति, ब्राञ्च कमिटी तथा सम्बन्धित सांगठनिक प्रतिनिधिहरू तयारी अवस्थामा रहनुपर्नेमा जोड दिएका छन्।
पार्टीको सांगठनिक संरचनालाई अझ सुदृढ र सक्रिय बनाउँदै आगामी राजनीतिक तथा सांगठनिक गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले केन्द्रीय समितिको उक्त सभा महत्वपूर्ण रहेको बताइएको छ।

By Paromita