दुर्घटनामा बालिकाको मृत्यु

सड़क दुर्घटनामा लगभग सात वर्षीया एक बालिकाको ज्यान गएको छ। आज शुक्रवार बिहान लगभग 10.30 बजी लाभपुर थानाअन्तर्गत धनडाङ्गा गाउँमा चौहट्टा–साँइथिया सड़कको छेउमा उक्त दुर्घटना भएको हो। स्थानीय वासिन्दाहरूअनुसार आमासित सड़क पार गर्दै थिइन् बालिका। त्यसै बेला तीव्र गतिमा आएको एउटा टेम्पो गाड़ीले बालिकालाई जोड़ले ठक्कर दियो। ठक्कर लाग्ने बित्तिकै बालिका भुइँमा उछिट्इन्। गम्भीर घाइते अवस्थामा तिनलाई स्थानीय अस्पताल लगियो। तर पनि बालिकालाई बचाउन सकिएन। अस्पतालका चिकित्सकहरूले तिनलाई मृत घोषणा गरे।
यस घटनाले क्षेत्रमा तीव्र तनाउ फैलिएको छ। आक्रोशित स्थानीय मानिसहरूले उक्त गाड़ीलाई नियन्त्रणमा लिएर टायर बालेर सड़क अवरुद्ध गरे। यसकारण वाहनहरूको आवागमन प्रभावित भयो। तिनीहरूले दोषीलाई कठोर दण्डको माग गरेका छन्। पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ। पुलिसले जनाएअनुसार गाड़ी चालकले सुइँकुच्चा ठोकेका छन्। चालकको खोजी जारी राख्दै घटनाको जाँच आरम्भ गरिएको पनि पुलिसले जनाएको छ।

By Paromita