गत फागुनमा कोभिड खोपको पहिलो मात्रा लगाएका गुल्मीका ७५ वर्षीय प्रेमबहादुर थापा तत्कालै दोस्रो मात्रा लगाउन चाहन्छन्। तर अहिले नेपालमा कोभिशील्ड खोप उपलब्ध नभएकाले उनले लगाउन पाएका छैनन्। उनी भन्छन्, “मैले र श्रीमतीले पहिलो मात्रा त लगायौँ। तर दोस्रो मात्रा कहिले पाउने टुङ्गो छैन।”
भारतीय सेनाको गोर्खा फौजमा दुई दशकभन्दा बढी सेवा गरेर अवकाश पाएका थापालाई ‘भारतले खोप उपलब्ध गराइदेला कि’ भन्ने आशा लागेको छ। “हामीले जुन देशको रक्षाका लागि त्यत्रो वर्ष काम गर्यौँ, अब उसले हामीलाई हेर्ने बेला आएको छ। हामी खोप कुरिरहेका छौँ,” उनले बीबीसीलाई टेलिफोनमा भने।
भारतीय सेनामा कार्यरत रहँदा दुई युद्धमा सामेल भएका र वीरचक्रबाट विभूषित भएका उनले भारत सरकारलाई भूतपूर्व गोर्खाहरूलाई खोप सहायता गर्न आग्रह गरे। थापाले भने, “मैले त पहिलो मात्रा लगाएको छु। यहाँ गाउँमा अरू धेरै भूपूहरूले त्यो पनि पाएका छैनन्। भारत सरकारले खोप पठाइदिए हामीलाई सहयोग हुन्थ्यो।” बाँके निवासी ६८ वर्षीय कृष्णबहादुर थापाले पनि ३२ वर्ष भारतीय सेनामा काम गरेका थिए। उनले पनि कोभिशील्ड खोपको पहिलो मात्रा लिएका छन् तर दोस्रो मात्रा पाइने कुरा निश्चित छैन। “भारतले हामीलाई खोप पठाइदिए हुन्थ्यो भन्ने हाम्रो माग छ,” उनले भने।
उनका भनाइमा आफ्नो स्वास्थ्य उपचारका लागि भूतपूर्व गोर्खा सैनिकहरूले जागिरमा छँदा र कतिपयले अवकाशपछि पनि ‘एक्स-सर्भिसम्यान कन्ट्रिब्युटरी हेल्थ स्किम’ ईसीएचएसमा नगद योगदान गरेका छन्। त्यसैले भारतीय सेनाको ईसीएचएस हेर्ने निकायले आफूहरूलाई खोपका लागि मद्दत गरोस् भन्ने भूतपूर्व गोर्खा सैनिकको चाहना रहेको थापा बताउँछन्। “अहिलेसम्म करिब ४० प्रतिशत भूपू गोर्खा सैनिकले पहिलो मात्रा लगाइसकेका छन् किनकि कतिपय भूपूहरू ६५ वर्षमाथिका छन्। तर अन्यले पहिलो मात्रा पनि पाएका छैनन्,” उनले भने।