‘मुस्लिमको सामूहिक नरसंहारको आह्वान गरेर गृहयुद्ध सुरु गर्न खोजिँदै छ’

बलिउड अभिनेता नसीरुद्दीन शाहको एउटा पछिल्लो अभिव्यक्ति निकै चर्चामा आएको छ । उनले मुस्लिमहरूको सामूहिक नरसंहारको आह्वान गर्ने कथित ‘हिन्दु धर्म गुरुहरू’ले गृहयुद्ध सुरु गर्न चाहेको टिप्पणी गरेका छन् ।

उत्तराखण्डको हरिद्धारमा १७ देखि १९ डिसेम्बरसम्म हिन्दुवादी नेता तथा कट्टरपन्थीहरूले ‘धर्म संसद्’को आयोजना गरेका थिए । जहाँ मुस्लिम तथा अल्पसंख्यक समुदायमाथि घृणायुक्त भाषण दिइएको थियो । यतिसम्म कि उनीहरूको सामूहिक नरसंहार गर्न आह्वान गरिएको थियो ।

सोहीबारे टिप्पणी गर्दै अभिनेता नसीरुद्दीनले उनीहरूले गृहयुद्धको आह्वान गरेको बताएका हुन् । उनले आवश्यक परे आफूहरू लड्न तयार रहेको पनि बताएका छन् ।

“उनीहरूको बोलेको सुनेर म छक्क परेको छु । उनीहरू गृहयुद्धका लागि अपील गरिरहेका छन् । हामी २० करोड मानिस यति सजिलै नष्ट हुनेवाला छैनौँ । हामी २० करोड मानिसहरू लड्नेछौँ ।”

भारतमा मुस्लिमहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा लिन थालिएको उनको गुनासो छ । मुस्लिमहरूलाई तर्साउन उनीहरूले सामूहिक नरसंहारको आह्वान गरेको तर आफूहरू नडराउने र हार नमान्ने उनले बताए । 

“यो मातृभूमि हामी २० करोड जनताको पनि हो । हामी २० करोड जनता यहीका हौँ । हाम्रो जन्म यही भयो । हाम्रो परिवार र कैयौँ पुस्ता यही बसे र यही माटोमा मिलेर गए । यदि यस्तो केही अभियान सुरु भयो भने कडा प्रतिरोध हुनेछ र मानिसको आक्रोश पोखिने छ भन्नेमा म निश्चित छु,” उनले भनेका छन् ।

मुस्लिमहरू आफ्नो घर, आफ्नो मातृभूमि अनि नयाँ पुस्तालाई बचाउन हार नमानेर यसको सामना गर्ने उनको विश्वास छ । मुस्लिमहरूलाई सीमान्तकृत गर्ने प्रयास माथिबाटै भइरहेको पनि उनले आरोप लगाएका छन् । 

“यो मुस्लिमहरूलाई असुरक्षित महसुस गराउने संगठित प्रयास हो । यो माथिबाट भइरहेको छ । सत्तारूढ दलको पृथकतावाद नीति बनेको छ । म मुस्लिमहरूविरुद्ध हिंसाका लागि उक्साएकाहरूको के हालत हुन्छ भन्ने हेर्न उत्सुक छु,” शाह बताउँछन्, “तर, यो सत्य हो कि उनीहरूको केही भएन । यद्यपि यो अचम्मको कुरा होइन, किनभने जसको छोराले किसानलाई कुटेको थियो, उसलाई पनि केही भएन ।”

sarbottam cement

उनको अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकता साथ प्रकाशन तथा प्रसारण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *