शीतलकुची विधानसभा क्षेत्रमा यसपल्ट 11 प्रतिशत बूथमा भाजपाले एजेण्ट दिन सकेन। त्यसकारण यस क्षेत्रमा 2024 को लोकसभा चुनाउमा तृणमूल कङ्ग्रेसले प्राप्त गरेको परिणामभन्दा पनि राम्रो परिणामको अपेक्षा गरिएको छ। यद्यपि भाजपाले भने केही अल्पसङ्ख्यक बहुल बूथहरूमा तृणमूलले आफ्ना एजेण्ट बस्न नदिएको आरोप लगाएको छ। त्यसपछि पनि यसपल्ट आफूहरू बढ़ी मतले जित्ने भाजपाको दाबी छ। यसअघि नै कुन ग्राम पञ्चायतमा कस्तो मतदान भयो भन्ने प्रारम्भिक हिसाबकिताब गरिएको छ। तृणमूल र भाजपा दुवै दलले आफू नै विजयी हुने दाबी गरिरहेका छन्।
शीतलकुची विधानसभा क्षेत्रमा माथाभाङ्गा 1 ब्लकका सात र शीतलकुची ब्लकका आठ ग्राम पञ्चायत समावेश छन्। यस क्षेत्रमा जम्मा 310 वटा बूथ छन्। तीमध्ये 35 बूथमा भाजपा एजेण्ट दिन सकेन। माथाभाङ्गा 1 ब्लकका सात ग्राम पञ्चायतमा भाजपा केही सङ्गठित रहेको छ। ती सात क्षेत्रमा प्रारम्भिक अनुमानअनुसार भाजपा केही अघि रहने अपेक्षा गरिएको छ। अर्कातिर शीतलकुची ब्लकका आठ पञ्चायतमा यसपल्ट ठूलो मतान्तरले अगाड़ि रहने अपेक्षा तृणमूलले गरेको छ। विशेष गरी यस ब्लकका लालबजार, छोटा शालबारी र गोलेनवहाटी क्षेत्रमा अधिकांश बूथमा भाजपा एजेण्ट दिन सकेन। तृणमूलको दाबीअनुसार अघिल्ला चुनाउ जस्तै यसपल्ट पनि यी तीन ग्राम पञ्चायतमा ठूलो मतान्तर प्राप्त हुनेछ। साथै खलिसामारी, गोसाईरहाट, शीतलकुची लगायतका केही पञ्चायतमा पनि तृणमूल उम्मेद्वारले राम्रो मतान्तर पाउने अपेक्षा गरिएको छ। माथाभाङ्गा 1 ब्लकमा केही मतले अघि भए पनि शीतलकुची ब्लकको मतमा भाजपा पराजित हुनेछ। 2024 को लोकसभा चुनाउमा यस क्षेत्रमा तृणमूलका जगदीश चन्द्र बसुनियाले 14 हजार मतले अग्रता लिएका थिए। यसपल्ट त्यो अन्तर पार गर्दै तृणमूलका उम्मेद्वार हरिहर दासले अझ बढ़ी मतान्तरले जित्ने अपेक्षा गरिएको छ। यद्यपि तृणमूलको यस दाबीलाई भाजपाले अस्वीकार गरेको छ।
तृणमूलका शीतलकुची ब्लक अध्यक्ष तपन गुहाले भने, हामीले प्रारम्भिक हिसाब गरेका छौँ। त्यसअनुसार माथाभाङ्गा 1 ब्लकका सात पञ्चायतमा भाजपा र हाम्रो उम्मेद्वारबीच कड़ा प्रतिस्पर्धा हुनेछ। तर शीतलकुची ब्लकबाट प्राप्त हुने अग्रता 2024 को लोकसभा चुनाउको अन्तरलाई समेत पार गर्नेछ। साथै यहाँ भाजपाले 35 बूथमा एजेण्ट बसाउन पनि मानिस फेला पार्न सकेन। 2021 मा भाजपा उम्मेद्वार हावाको भरमा जितेका थिए तर यसपल्ट त्यस्तो हुने छैन। जनताले काम हेरेर मतदान गरेका छन्। यद्यपि भाजपा कोचबिहार जिल्ला कमिटीका सदस्य कनक चन्द्र बर्मनले भने, हामीले केही अल्पसङ्ख्यक बहुल बूथमा एजेण्ट बसाउन सकेनौँ। ती बूथहरूमा पनि हाम्रो मत रहेको छ। जनताले कुनै अवरोधबिना मतदान गरेका छन्। हाम्रो उम्मेद्वार अघिल्लो विधानसभा चुनाउभन्दा यसपल्ट बढ़ी मतले विजयी हुनेछन्। तृणमूल नेताहरूले जे दाबी गरे पनि मतदान जनताले गरेका हुन्। यसपल्ट जनताले परिवर्तनको पक्षमा मतदान गरेका छन्।
35 बूथमा एजेण्टविहीन भाजपा
