कतारमा ‘मिनी नेपाल’

कतारमा नेपालीपन झल्किने पोसाक मात्रै छैनन्, नेपाली स्वादले पनि आफ्नो बजार विस्तार गर्दैछ। कतारी मरुभूमिमा नेपाली ढिँडो भेटिन थालेको छ। नेपाली बाँसको तामाको अचार, गुन्द्रुक र भटमासको स्वाद कतारी थालमा चाख्न पाइन्छ।

जिज्ञासाले प्रश्नतर्फ लैजान्छ, प्रश्नले उत्तरतर्फ। कतार आएपछि कतार प्रवेश गर्ने पहिलो नेपाली को होला ? थाहा पाएँ, नेपालको तराई क्षेत्रका रहेछन्। उनी अरबी र उर्दू भाषामा पोख्त थिए रे। त्यहाँको औकाफ तथा इस्लामिक मामिला मन्त्रालयमा कार्यरत रहेका थिए भन्ने सुनें। अर्को भनाइअनुसार पहिलो पटक सन् १९८२ मा दुईजना नेपाली कतार प्रवेश गरेका थिए जसमध्ये एकजना पूर्वी नेपालका राई थरका र अर्का तराईको धनुषा जिल्लाका मुस्लिम थिए तर राहदानी परिवर्तन गरी। राई त्यहाँको पहिलो पाँचतारे होटेल सेराटनमा कार्यरत थिए भने धनुषाका अर्का नेपाली मासु काट्ने काम गर्थे भन्ने पनि थाहा पाएँ।

दोस्रो चरणमा कतारी भूमिमा पाइला टेक्ने नेपाली तनहुँका रफिक मियाँ थिए, जो सन् १९८६ मा कतारको गृह मन्त्रालयमा सामान्य कामदारको रूपमा भित्रिएका थिए। उनीसँग स्याङ्जाका अमिर हाम्जा, जब्बार दिन मियाँ, चितवनका रियाजुदिन मियाँ, तनहुँ थप्रेकका ऐयुव खान, तनहुँकै चतुर मोहम्मद पनि पर्छन्। उनीपश्चात् तनहुँकै करिम मियाँ, जाफर मोहम्मद, असुरद्दिन मियाँ, दुलेगौंडाका दिन मोहम्मद मियाँ र सहाबुद्दिन मियाँ तथा कास्की बूढीबजारका सुकबहादुर गुरुङले कतार प्रवेश गरेका थिए। जसलाई कतार यति प्यारो लाग्यो कि धर्म परिवर्तन गरी मुस्लिम भएका थिए सुकबहादुर। 

त्यसैताका कतार प्रवेश गर्ने पोखराका रुक्नुद्दिन मियाँ र हजरत अली मियाँ पनि पर्छन्।

तेस्रो चरणमा कतार प्रवेश गर्ने नेपालीमध्ये चितवनका मञ्जुर अहमद मियाँ, गोरखाका अताउल्लाह खान, चितवनका अलिम मियाँ, अजिम मियाँलगायत पर्छन्। जो कतार सरकार गृह मन्त्रालयअन्तर्गतको हारिस अल मुन्साअत् (हन्दसा) मा सुरक्षा गार्डको काममा कृष्ण गुरुङ नामक व्यक्तिको सहयोगमा काठमाडौंबाट भारत हुँदै कतार पसेका थिए। चौथो चरण सन् १९८८ मा कतार प्रवेश गर्ने चितवनका कलामद्दिन, स्याङ्जाका गुल्जार, पोखरा मियाँपाटन कुडहरका लिला, मक्बुल मियाँ, बुटवलका अनवरदिन मियाँ पर्छन्। त्यसपछि पनि विभिन्न कामका लागि नेपालीको कतार प्रवेशको सिलसिला चलिरह्यो। जस्तै बलदिया र टेक्स्टायल, गार्मेन्ट्समा नेपाली कतार भित्रिन थाले। यीलगायत तराई क्षेत्रका धेरै नेपाली कपडा सिलाउने काममा आएर आफ्नै व्यवसाय सञ्चालन गरे, कतारमै घरजम गरी बसेका छन्।

‘त्यतिबेलाको कतार कस्तो थियो ?’ ‘यहाँ यत्रा बिल्डिङ थिएनन्, गाउँजस्तो थियो। सुरुमा आउँदा काठमाडौं ठूलो दोहा सानो लाग्थ्यो’, उनीहरूले सुनाए।

त्यतिबेलाको दोहामा सानासाना झुपडी र दलिन निकालेका घर थिए रे। अन्य अरब मुलुकका अन्य नागरिकहरू पनि सामान्य काम गर्थे रे। अरब मुलुकका अन्य नागरिक र इरानीहरू ठेलागाडामा सामान बोक्थे रे। भनिन्छ– दोहाको पहिलो रेस्टुरेन्ट ‘बिस्मिल्लाह’ हो। अहिले पनि त्यो त्यहाँको पर्यटकीय बजार सुक वाकिफमा रहेको छ। आप्रवासीले इरानी मार्केट भनेर चिन्ने सुक वाकिफ कतारकै नमुना व्यापारिक स्थलको रूपमा रहेको छ। किनभने त्यहाँ काम गर्ने अधिकांश कामदार इरानी थिए। सुक वाकिफमा अहिले पनि त्यो ‘बिस्मिल्लाह रेस्टुरेन्ट’ छ। जब त्यो पहिलो रेस्टुरेन्ट कतारमा खुल्यो, कतारीहरू यहाँ मीठोमीठो खान पाइन्छ भनेर हेर्न आउँथे रे।

यस्तो ‘रे’ र अरेको कथा सुनाउने नेपाली धेरै भेटिन्छन् तर मलाई भने यो कथा कतारको पुराना इलेक्ट्रोनिक व्यवसायी तथा जम्बो इलेक्ट्रोनिक्सका संस्थापक जसिम मोहम्मद सुलैमानले सुनाए। र, आज पनि तीमध्ये केही कर्मठ हातहरू कतार बनाउन पसिना बगाइरहेका छन्। यतिबेला नेपालीको तेस्रो पुस्ता कतार बनाउन तल्लीन छ। कहिलेकाहीं लाग्छ, म नेपालमै छु। नेपाली भाषा र नेपालीपन कतारको एयरपोर्टदेखि नै सुरु हुन्छ। यो मरुभूमिमा एक नेपाली अरू नेपालीसँग मस्त नेपाली भाषामा कुरा गर्न पाउँदा म आनन्दित हुन्छु। नेपालीमै ‘ए सुन्नुस् त, यता आउनुस्’ त भन्न पाउँदा, मेरो देशको टोपी लगाएर म सानले हि“ड्दा र नेपाली परिकार खाँदा म कतारमा छु झैं लाग्दैन। अध्यागमन भिसाले मात्र ए यो कतार हो है जस्तो लाग्छ। 

सन् २००७ को तथ्यांकका अनुसार कतारको कुल जनसंख्यामा १० प्रतिशत नेपाली थिए। हालको तथ्यांकअनुसार कतारमा कतारी नागरिकको संख्या तीन लाखभन्दा बढी छ। कतारीभन्दा भारतीय नागरिक ३४ प्रतिशत बढी छन्। त्यसपछिको ठूलो संख्या नेपालीकै हो। कतारमा रहेका अधिकांश नेपालीले सामान्य जीवनयापन गर्छन्। आर्थिक समस्याका कारण जन्मभूमि र आफन्तबाट छुट्टिएर सात समुद्रपारिको आँगनमा बाध्यतावश पुगेका नेपालीको जीवनयापन सामान्यदेखि असामान्यसम्म देख्न सकिन्छ। प्रचण्ड गर्मीमा जोखिमपूर्ण काम गरी परिवारको लालनपालन, शिक्षादीक्षा एवम् अन्य व्यावहारिक दायित्व बोकेर कतारी भूमि पसेको हुँदा अधिकांश नेपालीको जीवनमा तडकभडकको सामान्य छनक पनि पाइँदैन। निरन्तरको काम र आकर्षक आम्दानी नभएकाले विलासी जीवन स्वैरकल्पना मात्र हुन पुग्छ। कतारका अधिकांश नेपालीको जीवनशैली सादगीपूर्ण छ।

समस्यालाई हाँसोले जित्ने नेपाली पारा मरुभूमिमा पनि प्रस्ट देखिन्छ। कोही नेपाली व्यवसायमा छन् त कोही राम्रो कम्पनीको आकर्षक पदमा जागिरे छन्। केही सय नेपाली कतारमा सपरिवार बस्दै आएका छन्। केही नेपालीको जीवनशैली उच्चकोटीको छ। ‘चमत्कारी समृद्धि’ हासिल गरेको कतार सम्पन्न वर्गका लागि युरोप र अमेरिकाभन्दा कम सुविधा छैन। त्यस्तो जीवन जिउने नेपालीको संख्या दिनानुदिन बढ्दै गएको छ। बढीजसो नेपाली कामदार अदक्ष हुन्छन्। कतारमा सबैभन्दा ठूलो रोजगारीको क्षेत्र निर्माण भएकाले अधिकांश नेपाली त्यसमै कार्यरत छन्। कतारमा नेपाली नपुगेको ठाउँ सायदै होला। स–साना चिया पसलदेखि ठूला सपिङ सेन्टरसम्म नेपालीमै बोले पनि फरक पर्दैन। कतारमा नेपालीपन झल्किने पोसाक मात्रै छैनन्, नेपाली स्वादले पनि आफ्नो बजार विस्तार गर्दैछ। कतारी मरुभूमिमा नेपाली ढिँडो भेटिन थालेको छ। 

नेपाली बाँसको तामाको अचार, गुन्द्रुक र भटमासको स्वाद कतारी थालमा चाख्न पाइन्छ।

जुमारात कतारको रमाइलो रात हो। अधिकांश नेपाली बिहीबार साँझदेखि नै आफन्तजन वा साथीभाइ भेला भई मीठो–मसिनो खान र सुख–दुःख बिसाउन यो रातलाई महत्त्वका साथ उपयोग गर्छन्। शुक्रबारको दिन सरकारी बिदा हुन्छ जसका कारण अधिकांश कम्पनी बन्द नै हुन्छन्। कुनै चाडपर्वभन्दा कम हुँदैन, मैले देखेको कतारमा जुमारात। विगतमा अलपत्र परेकाहरूको उद्धारको प्रारम्भ यस्तै ठाउँहरूबाट हुने गर्दथ्यो। मालिकको सेवामा दिनरात लखतरान भएका मनहरू शुक्रबार पिँजडाबाट फुत्किएकी मैनाझैं उन्मुक्त भएर स्वतन्त्ररूपमा हि“डिरहेका हुन्छन्। प्रख्यात र अनेकौं परियोजना सम्पन्न गर्ने अभिभारा बोकेका कम्पनीले आधा दिन मात्रै काम गराउँछन्। भोलिपल्ट सबेरै ड्युटीमा जान नपर्ने भएकाले धेरै टाढाटाढासम्म आफन्तको अपनत्वको खोजी गर्दै नेपालीहरू क्याम्पक्याम्पमा भौंतारिन्छन्। हप्ताको एक दिनको यो बिदाले नेपालीलाई रमाइलो गरेको हुन्छ।

कतारको कानुनमा जुवा, तास, रक्सी आदि दण्डनीय मानिन्छ। कानुनलाई छल्दै लुकिछिपी रमाउने केही नेपाली पनि छन्। क्षणिक आनन्दमा रमाउने कानुनका विपरीत यस्ता कार्य गर्नाले केही नेपालीले जेलको हावासमेत खाइरहेका छन्। कतिपय नेपालीले क्षणिक आनन्दका लागि बन्देज लगाइएका घातक पेयपदार्थ पनि पिउने गर्छन्। प्रचण्ड गर्मीमा दिनभरि कडा परिश्रम गरेर आफ्नो बासस्थान फर्किएपछि एयर कन्डिसनरको चिसो हावामा मख्ख पर्छन्। स्वर्णीम आनन्द दिन खोज्दा राति ओछ्यानमा सुतेपछि जीवनभरि नबिउँझिने गरी अस्ताएका हजारौं नेपालीको कथा पनि पीडादायी नै छ।

गाउँको गोरेटोमा हिँड्ने बानी परेका नेपालीले आँकलन नै गर्न नसक्ने ८–१० लेनको सडक पार गर्न खोज्दा सडकको बीचमै गाडीको ठक्करबाट ज्यान गुमाउने नेपालीजनको कहानी पनि दुःखदायी छ। गगनचुम्बी भवन निर्माण गर्दा सावधानी नअपनाएर वा सुरक्षा सामग्रीको प्रयोग नगर्दा भुइँमा खसेर ज्यान गुमाउने नेपालीको संख्या पनि थुप्रै रहेको छ, मैंले देखेको कतारमा। वैदेशिक रोजगार एकातर्फ अवसर हो भने अर्काेतर्फ चुनौती पनि बन्न पुगेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *