मेरिकोमको ओलम्पिक अभियानमा विराम

भारतकी दिग्गज महिला बक्सर तथा ६ पल्टकी विश्व च्याम्पियन एमसी मेरिकोम (५१ किग्रा) को दोस्रो ओलम्पिक पदक जित्ने सपना बिहीवार टोक्यो खेलहरूका क्वार्टर फाइनलमा रियो ओलम्पिककी काँस्य पदक विजेता कोलम्बियाकी इन्ग्रिट भेलेन्सिया विरुद्ध २-३ ले हारको साथ भताभुङ्ग भयो। लण्डन ओलम्पिक २०१२ मा काँस्य पदक विजेता ‘सुपरमम्’ मेरिकोमले यस चुनौतीपूर्ण म्याचमा आफ्नो सर्वश्रेष्ठ प्रयास गरे पनि जीत हासिल गर्न सकिनन् । यो ३८ वर्षीय महान बक्सरको अन्तिम ओलम्पिक लड़ाईं पनि थियो ।

रेफरीले बाउटको अन्तमा भेलेन्सियालाई विजेता घोषित गर्दा मेरीकोमको आँखामा आँशु भए पनि अनुहारमा मुस्कान थियो । उनले प्रतिद्वन्द्वीलाई अँगालेर खेल भावनाको परिचय दिइन् । क्वार्टर फाइनल बाउटमा पहिलो घण्टीदेखि नै भेलेन्सियाको फूर्ति देख्दा लड़ाइँ रोमाञ्चक हुने अनुमान गरिएको थियो अनि त्यस्तै भयो पनि । दुवै बक्सरले शुरुदेखि नै एकार्कामाथि घुस्सीको वर्षा गरिरहेकी थिइन् तर पहिलो राउण्ड ४-१ ले भेलेन्सियाको नाममा रह्यो। मणिपुरकी अनुभवी बक्सर मेरिकोमले पनि असाधारण पुनरागमन गर्दै दोस्रो र तेस्रो राउण्ड ३-२ ले आफ्नो नाम गरिन् तर शुरुवाती राउण्डको बढ़तले गर्दा भेलेन्सिया क्वार्टर फाइनलको वाधा पार गर्न सफल भइन् ।

भारतीय बक्सरले दोस्रो र तेस्रो राउण्डमा दाहिने हुक को असल तरिकाले प्रयोग गरिन्। मेरिकोमले यसअघि २०१९ को विश्व च्याम्पियनशीपको क्वार्टर फाइनलमा भेलेन्सियालाई पराजित गरेकी थिइन् तर आज उनको दिन थिएन । कोलम्बियाई बक्सरको मेरिकोम विरुद्ध यो पहिलो जीत हो । मेरिकोम जस्तै ३२ वर्षीय भेलेन्सिया पनि आफ्नो देशको निम्ति महत्त्वपूर्ण खेलाड़ी हुन् । ओलम्पिक खेलहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्ने अनि देशको निम्ति ओलम्पिक पदक जित्ने भेलेन्सिया पहिलो महिला बक्सर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *