श्रीलङ्कामा तमिल विद्रोहीसँग लडेका नेपाली: कसैलाई वीरचक्र, कसैलाई जीवनभरिका लागि चोट

“…रेम्बो, रेम्बो… एलएमजी टु… !” तीन दशक बितिसक्यो तर आँखा लोलाएका बेला अहिले पनि देवभक्त राई (५६) का कानमा यी शब्दहरू गुञ्जिरहन्छन्। चाहेर पनि उनी आफ्ना कानमा अन्तिम पटक ती शब्द गुञ्जिएको २३ मे १९८९ को दिनलाई बिर्सन सक्दैनन्। “आफैँमा घटेको घटना त जीवनभरि याद रहने रहेछ,” उनी भन्छन्। घटना लडाइँको मैदानको हो। तर उनी आफ्नै देशमा वा आफ्नै देशका खातिर लड्दै थिएनन्।

न त उनी जुन देशको सेनामा भर्ती भएका थिए, त्यसको सीमा रक्षाका लागि नै लडाइँमा होमिएका थिए। ३२ वर्षअघिको घटना सम्झिँदा अहिले पनि उनलाई “त्यो अनाहकको लडाइँ” थियो जस्तो लाग्छ। “त्यहाँ गएर न हामीले कुनै उपलब्धि पायौँ न हामीलाई पठाउने देश (भारत) ले नै केही पायो। सबैलाई नोक्सान मात्र भयो,” भूतपूर्व भारतीय गोर्खा सैनिक राईले बीबीसीसँग भने। पूर्वी नेपालको सुनसरीमा बसोबास गर्ने राईले ३२ वर्षपछि स्मरण गरेको उक्त घटना श्रीलङ्काको हो। त्यसबेला उनी इन्डियन पिस-किपिङ फोर्स (आईपीकेएफ) अन्तर्गत श्रीलङ्कामा तमिल विद्रोही विरुद्धको लडाइँमा खटिएका थिए।

श्रीलङ्कामा गृहयुद्ध जारी रहेका बेला भारतले त्यहाँ शान्ति स्थापनाका लागि भन्दै सेना पठाएको थियो। भारत सरकारका दाबीमा उसको प्रमुख उद्देश्य थियो- तमिल विद्रोहीहरूलाई हतियार बिसाउन मनाउनु। तर शान्तिका नाममा श्रीलङ्का पुगेको केही हप्तापछिदेखि नै विद्रोही लिबरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीई)सँग भारतीय सेनाको लडाइँ सुरु भयो।

उक्त लडाइँमा भारतीय सेनाका करिब १२ सय सैनिकहरू मारिएको विवरण छ। त्यसमध्ये कैयौँ भारतीय सेनाको गोर्खा राइफल्समा कार्यरत नेपाली नागरिकहरू पनि थिए। उक्त अभियानलाई भारतीय सैन्य क्षेत्रका कतिपय विज्ञहरूले हालसम्मकै “असफल अभियान” भनेर चर्चा गर्छन्। श्रीलङ्कामा सेना पठाएकै कारण पछि तमिल विद्रोहीको योजनामा भारतीय प्रधानमन्त्री राजीव गान्धीको हत्या समेत भएको बताइन्छ। गान्धीको निर्णय अनुसार सन् १९८७ को जुलाई महिनामा भारतीय सेना श्रीलङ्का पुगेको थियो। सन् १९९० सम्म उक्त सेना त्यहाँ रह्यो र कैयौँ भारतीय सैन्य मामिला विज्ञहरूका भनाइमा “एउटा असफल अभियानका रूपमा” भारत फर्कियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *