कोभिड–१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा सङ्क्रमण थिएन : चीन

चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट सङ्क्रमित नरहेको चीनले फेरि एक पटक दोहोराएको छ ।

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले वुहानस्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दावीको खण्डन गर्दै चीनको यो भनाइ आएको हो । अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोना भाइरसको उत्पतिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाइ आउने गरेका छन् ।

पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा बल पुगेको हो। यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले चीनसँग वुहानस्थित प्रयोगशालाका तीन अनुशन्धानकर्तासहित कुल ९ जना चिनियाँ नागरिकको स्वास्थ्यसम्बन्धी विवरण जारी गर्न माग गरेका छन् ।

शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोना भाइरसको कुनै जानकारी नरहेको दाबी पुनः गरेका छन् ।

उनले अहिलेसम्म सो प्रयोगशालाका एक कर्मचारी वा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नदेखिएको दावी गरे । स्वास्थ्य विवरणहरु प्रयोगशालाका कर्मचारी र शोधकर्ताहरुमा मात्रै सीमित गरिने भएकाले सार्वजनिक गर्न नसकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *