विद्यार्थीलाई होस्टल छाड्न साउथ एसियन युनिभर्सिटीको सूचना

दिल्लीस्थित साउथ एसियन युनिभर्सिटी (साउ) ले कोरोना महामारीका कारण दिल्लीमा गम्भीर स्वास्थ्य संकट देखा परेको भन्दै त्यहाँ अध्ययनरत आवासीय विद्यार्थीहरुलाई होस्टल छाड्न निर्देशन दिएको छ ।

सोमबार साउ प्रशासनले एउटा सूचना जारी गर्दै दिल्लीको चाणक्यपुरीस्थित अकबर भवनको होस्टलमा रहेका सबै विद्यार्थीहरुलाई १० मेभित्र खाली गर्न आदेश दिएको हो । ‘सबै विद्यार्थीहरुलाई उनीहरुको व्यक्तिगत सुरक्षाका लागि १० मे भित्र अकबर भवनस्थित होस्टल कोठा र परिसर खाली गरेर आ-आफ्नो घर र बस्ने ठाउँका लागि प्रस्थान गर्नुपर्नेछ,’ साउद्धाराजारी सूचनामा भनिएको छ ।

साउले महामारीका कारण दिल्लीमा गम्भीर स्वास्थ्य संकटमा रहेको र विद्यमान स्वास्थ्य पूर्वाधारले बिरामीहरुको चाप थेग्न नसक्ने र आगामी दिनमा परिस्थिति थप भयावह बन्न सक्ने देखेर होस्टल खाली गर्ने निर्णय लिएको दाबी गरेको छ । ‘सञ्चारमाध्यम, राज्य सरकार एवं अस्पतालहरुद्वारा जारी प्रेस विज्ञप्तीहरुले अक्सिजन, बेड र औषधिको चरम संकट देखाएको र साउका केही विद्यार्थीले पनि त्यस्तै परिस्थितिको सामना गर्नुपरेकाले होस्टल खाली गर्ने निर्णयमा पुगेका हौं,’ विज्ञप्तीमा भनिएको छ । साउमा सबै सार्क मुलुकका गरी ७ सयभन्दा बढी विद्यार्थी अध्ययरनत छन् । त्यसमध्ये ४० जना नेपाली विद्यार्थी छन् । र, हाल होस्टलमा दुईसयभन्दा बढी विद्यार्थी रहेको होस्टलका सिनियर वार्डेन तथा उपप्रध्यापक युवराज पोखरेलले बताए । त्यसमध्ये हाल २० जना नेपाली विद्यार्थी रहेको पोखरेलले जानकारी दिए ।

प्रशासनले एकाएक होस्टल खाली गर्न सूचना जारी गरेपछि महामारीको त्रासमा रहेका नेपाली विद्यार्थीलाई कसरी घर जाने भन्ने चिन्ता थपिएको छ । उनीहरुको भनाइमा प्रशासनले होस्टल छाड्न भनेपनि एकातिर हवाइ टिकटको अभाव र अर्कोतर्फ सडकमार्गबाट जाँदा संक्रमणको अत्यधिक जोखिम भएकाले नेपाल जान सहज छैन । ‘सम्भव हुनेजति गएको राम्रो हो । तर, सम्भव नहुनेलाई चाहिँ प्रशासनले सुरक्षित रुपमा फ्लाइटहरुमा टिकट पाउन असम्भव छ, सडकबाट जाँदा कोरोना सर्ने डर छ र अन्तर्राष्ट्रिय सीमा पनि बन्द हुने हल्ला छ त्यसैले यस्तो अवस्थामा क्याम्पस प्रशासनले होस्टलमा नै बस्न चाहने विद्यार्थीहरुको लागि सुरक्षित रुपमा बस्ने र आपतकालीन अवस्थामा औषधोपचारको व्यवस्था गर्नुपर्छ,’ साउमा पीएचडी गर्दै गरेका नेपाली विद्यार्थी महेश्वर गिरीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *