आगामी नौ महीनाभित्रै नगर चुनाउ हुँदैछ। त्यसैले यसपल्ट सिलगढ़ी नगर निगम कब्जा गर्ने लक्ष्य भाजपा शिविरले राखेको छ। तिनीहरूले विधानसभा चुनाउको परिणामलाई आधार बनाएर रणनीति तयार गरिरहेका छन्। महकुमा परिषदबारे पनि तिनीहरूको योजना उस्तै छ। बिहीवार महकुमा परिषदमा विपक्षी दलका नेता, भाजपाका अजय उरावँले मिठाई वितरण गरे। यस्तो अवस्थामा दल फुट्न नदिन तृणमूल कङ्ग्रेस सक्रिय भएको छ। राज्यमा भाजपाको नयाँ सरकार गठन भएपछि तृणमूलको सिलगढ़ी नगर निगमको परिषद समिति बैठक बस्ने खबर छ। सिलगढ़ी नगर निगममा मोठ 47 वटा वार्ड छन्। तीमध्ये 14 वटा वार्ड जलपाइगढ़ी जिल्लाको डाबग्राम-फूलबारी विधानसभा क्षेत्रमा पर्छन्। बाँकी 33 वटा वार्ड दार्जीलिङ जिल्लाको सिलगढ़ी विधानसभा क्षेत्रमा छन्। विधानसभा चुनाउमा दुवै क्षेत्रमा अधिकांश वार्डमा भाजपा अघि रहेको छ। यस्तो अवस्थामा दलकै एक भागले नगर निगमका मेयर गौतम देवको राजीनामाको माग उठाएको छ। त्यसमा एकजना काउन्सिलर पनि समावेश छन्। केही काउन्सिलरहरू भाजपा शिविरसित सम्पर्कमा रहेको पनि भाजपा सूत्रले जनाएको छ। यसैबारे राजनीतिक विश्लेषकहरूले नगर बोर्डमा फाटो आउन सक्ने आशङ्का गरेका छन्।
हाल 37 वटा वार्ड तृणमूलको नियन्त्रणमा छन्। भाजपासित पाँचवटा, सीपीएमसित चारवटा र कङ्ग्रेससित एकवटा वार्ड रहेको छ। नगर निगमका विपक्षी दलका नेता भाजपाका अमित जैनले भने, अहिले धेरैजना हाम्रो पक्षतर्फ आउन चाहिरहेका छन्। तर हामी दल फुटाउने खेलमा जाने छैनौँ। राज्य समिति निर्देशनअनुसार हामी पार्टीको संस्कृति कायम राख्नेछौँ। तृणमूल सूत्रअनुसार आगामी दिन पार्टीका काउन्सिलरहरूको भूमिका, सुव्यवस्थित रूपमा नगर निगम सञ्चालन लगायत विभिन्न विषयमा छलफल हुनेछ। तृणमूलको परिषद समितिका अध्यक्ष तथा उपमेयर रञ्जन सरकारले भने, प्रत्येक महीना परिषद समितिको बैठक बस्छ, यसपल्ट पनि बस्नेछ।
सन् 2027 को फरवरीमा वर्तमान नगर बोर्डको कार्यकाल समाप्त हुनेछ। यसबीच विधानसभा चुनाउको परिणामले भाजपा उत्साहित छ। नगर निगमका विपक्षी दलका नेताले भने, केवल 6 नम्बर वार्डबाहेक सबै वार्डमा हामीले अग्रता पाएका छौँ। थपिएका वार्डहरूमा पनि अगाड़ि छौँ। यसै परिणामलाई आधार बनाएर प्रत्येक वार्डमा रणनीति तयार गर्दैछौँ। नगर चुनाउमा पनि तृणमूललाई पराजित गर्नेछौँ। यता आज सिलगढ़ी महकुमा परिषदमा विपक्षी दलका नेता अजय उरावँले मिठाई वितरण गरे। उरावँले भने, बङ्गालमा भाजपाको सफलताका कारण परिषदका कर्मचारी र अधिकारीहरूलाई मिठाई खुवाएका हौँ। तृणमूलका ठूला नेताहरू भाजपामा आउने प्रयास गरिरहेका छन्। अहिले कसैलाई पनि लिइने छैन। हामी डबल इञ्जिन सरकारको प्रभाव गाउँलेहरूलाई अनुभव गराएर चुनाउमार्फत महकुमा परिषद कब्जा गर्नेछौँ। यस विषयमा महकुमा परिषदका सभाधिपति तृणमूलका अरुण घोषले कुनै टिप्पणी गर्न चाहेनन्। उल्लेखनीय छ, सन् 2027 को 26 जुलाईमा महकुमा परिषदको वर्तमान बोर्डको कार्यकाल समाप्त हुनेछ।
नगर निगम, महकुमा परिषद कब्जा गर्ने योजना!
