जीएनएलएफको विरोधपछि रोहिणी टोल प्लाजा बन्द

राज्यको बदलिँदो राजनीतिक परिस्थितिमा जीएनएलएफ कार्यकर्ताहरूको विरोध गरेपछि बिहीवार रोहिणी टोल प्लाजा बन्द गरिएको छ। बिहीवार बिहान जीएनएलएफका नेता तथा समर्थकहरू टोल प्लाजामा भेला भई टोल वसुलीको विरोधमा नाराबाजी गरे। छोटो समयको विरोधपछि टोल प्लाजाका कर्मचारीहरू स्थान छोड़ेर गएका बताइएको छ जसका कारण टोल सञ्चालन स्थगित भएको हो।
रोहिणी हुँदै खरसाङ र दार्जीलिङतर्फ जाने वाहनहरूले अब टोल शुल्क तिर्नु नपर्ने जीएनएलएफ कार्यकर्ताहरूले दाबी गरेका छन्। पर्यटक वाहन, ट्रक, साना कार र मोटरसाइकलहरू अहिले टोल शुल्क नतिरी आवागमन गरिरहेका छन्।
उल्लेखनीय छ, रोहिणी टोल प्लाजा जीटीएद्वारा आरम्भ गरिएको थियो। यो मार्ग हुँदै पहाड़ प्रवेश गर्ने वाहनहरूबाट लामो समयदेखि टोल कर वसुल गरिँदै आएको थियो। तर जीएनएलएफले निरन्तर विरोध गर्दै यस टोल प्रणालीले पर्यटक र सर्वसाधारणमाथि थप आर्थिक भार पारेको आरोप लगाउँदै आइरहेको थियो। हालै राज्यमा भएका राजनीतिक घटनाक्रमपछि यस विषयमा पार्टीले आफ्नो आन्दोलन तीव्र बनायो जसले अन्ततः रोहिणी टोल प्लाजा बन्द भएको छ।

By Paromita