पद्मश्री सम्मान प्रापक सारिङ्गा वादक शतायु मङ्गलकान्त राय जलपाइगढ़ी मेडिकल कलेजमा भर्ना भएका छन्। सोमवार दिउँसो अर्का पद्मश्री करिमुल हकले आफ्नै एम्बुलेन्समा राखेर तिनलाई अस्पताल ल्याएका हुन्। मङ्गलकान्तका परिवारका सदस्यहरू पनि साथमा थिए। तर पूरै दिन बितिसक्दा पनि अस्पतालमा उपचाराधीन पद्मश्रीको खोजखबर लिन गेरुवा शिविरबाट कोही आएनन्। अस्पतालमा भेट्न आउनु त परै जाओस् कुनै पनि भाजपा नेताले फोनसमेत नगरेको मङ्गलकान्तका जेठा छोरा उमाकान्त रायको बताए। यस विषयमा तिनको स्वरमा गुनासो झल्किएको छ।
उमाकान्तले भने, चुनाउका बेला प्रचारमा ध्यान आकर्षित गर्न बाबुसित मन्दिरमा पूजा गर्न जान भाजपा नेताहरू उत्सुक थिए। अहिले चुनाउ सकियो। त्यसैले सायद बाबु अस्पतालमा भर्ना भए पनि तिनीहरूको खोजखबर लिन आवश्यक ठानेनन्। मङ्गलकान्तलाई अस्पताल भर्ना गराउन आएका करिमुलले पनि गुनासो व्यक्त गरे। करिमुलले भने, हामीले केवल पद्मश्री सम्मान मात्रै पाएका छौँ। त्यसपछि हाम्रो दिन कसरी बितिरहेको छ भनेर चासो कसैले लिँदैन। मङ्गलकान्तकी श्रीमतीले राम्ररी देख्न सक्दिनन्। तिनको आँखाको शल्यक्रिया छिट्टै गर्न आवश्यक छ। मङ्गलकान्तलाई अस्पताल ल्याउन एम्बुलेन्स भाड़ा गर्ने आर्थिक क्षमता पनि परिवारसित छैन। खबर पाएपछि मैले आफ्नै एम्बुलेन्समा तिनलाई अस्पताल ल्याएँ।
धवलागुड़ी निवासी मङ्गलकान्त दिउँसो अस्पतालमा भर्ना भए पनि साँझसम्म त्यसबारे मैनागुड़ीका भाजपा उम्मेद्वार डालिमचन्द्र रायलाई जानकारी थिएन। फोनमा सम्पर्क गर्दा तिनले भने, पद्मश्री मङ्गलकान्त राय अस्पतालमा भर्ना भएको खबर पाएको छुइनँ। अहिले बाहिर छु। फर्किएपछि हेर्नेछु र अस्पताल जाने प्रयास गर्नेछु।
भाजपा उम्मेद्वारको यस टिप्पणीप्रति मैनागुड़ीका तृणमूल उम्मेद्वार राममोहन रायले प्रतिक्रिया जनाउँदै गेरुवा शिविरको आलोचना गरे। तिनले भने, चुनाउअघि पद्मश्रीको आवश्यकता भाजपालाई थियो। चुनाउ सकिएपछि त्यो आवश्यकता समाप्त भयो। हाम्रो पार्टीका कार्यकर्ताहरू मङ्गलकान्तको परिवारसित सम्पर्कमा छन्। म स्वयं पनि अस्पतालमा तिनलाई भेट्न जानेछु। जलपाइगढ़ीका भाजपा सांसद जयन्तकुमार रायले भने, दोस्रो चरणको चुनाउ प्रचारका लागि म हुगलीको सिङ्गुरमा थिएँ। मङ्गलकान्त अस्पतालमा भर्ना भएको खबर पाएको छु। एमएसभीपीसित फोनमा कुराकानी भएको छ। मङ्गलवार जलपाइगढ़ी फर्किएपछि भेट्न जानेछु। जलपाइगढ़ी मेडिकलका सुपर कल्याण खाँले जानकारी दिएअनुसार, मङ्गलकान्तको स्वास्थ्य अवस्था स्थिर छ। तिनको घाँटी सुन्निएको छ। ओजन धेरै घटेको छ। विभिन्न परीक्षणहरू भइरहेको छन्। ती सबैको रिपोर्ट हेरेपछि के भएको हो स्पष्ट हुनेछ। प्रसिद्ध सारिङ्गा वादकका रूपमा सन् 2023 मा मङ्गलकान्त रायलाई पद्मश्री सम्मान प्रदान गरिएको थियो। आरोप अनुसार, पद्मश्री पाएपछि भाजपा नेताहरूले तिनलाई केन्द्रबाट मासिक 6 हजार रुपियाँ कलाकार भत्ता दिलाइदिने आश्वासन दिएका थिए। तर त्यो आश्वासनमै सीमित रह्यो। यस विषयमा हालै पद्मश्रीको परिवारले सार्वजनिक रूपमा असन्तोष व्यक्त गरेको थियो।
जलपाइगढ़ी मेडिकलमा भर्ना पद्मश्री मङ्गलकान्त
