गोदाममा बाकस–बाकस मदिरा भण्डारण

मदिरा किन्न ग्राहक बनेर मैनागुड़ी नयाँ बजारमा पुलिसले छापा मार्दा एक व्यवसायीको गोदामबाट 1089 वटा देशी र विदेशी मदिराका बोतल फेला परेको छ। घटनामा पुलिसले एकजनालाई पक्राउ गरेको छ। आरोपीको नाम लक्ष्मण सरकार रहेको पुलिसले जनाएको छ। तिनको घर मैनागुड़ी ब्लकको खाग्राबारी–1 ग्राम पञ्चायतअन्तर्गत दक्षिण खाग्राबारी गाउँमा पर्छ। तिनीविरुद्ध सम्बन्धित धारामा मुद्दा दर्ता गरिएको पनि पुलिसले जनाएको छ।
29 अप्रेल दोस्रो चरणको विधानसभा चुनाउ छ। यसका लागि मदिरा पसलहरू बन्द गरिएको छ। त्यसैले अतिरिक्त नाफाको लोभमा नयाँ बजारमा गोदाम भाड़ामा लिएर लक्ष्मणले ठूलो परिमाणमा मदिरा भण्डारण गरेका थिए। सोमवार गोप्य सूचनाका आधारमा मैनागुड़ी थानामा खबर पुग्यो कि नयाँ बजारमा अवैध रूपमा मदिरा बिक्री भइरहेको छ। उक्त सूचनाको आधारमा मैनागुड़ी थाना पुलिसले ग्राहक बनेर नयाँ बजार पुग्यो। मदिरा माग्ने बित्तिकै पुलिस अचम्मित भयो। अनुसन्धान अधिकारीले गोदाममा ठूलो परिमाणमा मदिरा भण्डारण गरिएको देखे। त्यसपछि पुलिसले आरोपीलाई पक्राउ गर्यो्। मदिराका बोतलहरू पनि जफत गरियो। अनुसन्धान अधिकारीले बताएअनुसार जफत गरिएको सामग्रीमध्ये 189 बोतल विदेशी मदिरा र 910 बोतल देशी मदिरा रहेका छन्। मैनागुड़ी थानाका आईसी सुबल दत्तले भने, आरोपीले अवैध रूपमा अतिरिक्त नाफाको लोभमा यो कारोबार सञ्चालन गरिरहेका थिए। सूत्रको सूचनाका आधारमा छापा मारिएको हो। मैनागुड़ीका विभिन्न क्षेत्रमा अवैध मदिराविरुद्ध निरन्तर निगरानी भइरहेको छ। क्षेत्रमा कुनै पनि अवैध मदिरा कारोबार चल्न दिइने छैन।

By Paromita