भाजपाले पैसा बाँड़िरहेको ममताको आरोप

विधानसभा चुनाउको बिगुल बज्न साथ उत्तर बङ्गालमा राजनीतिक तापक्रम चरममा पुगेको छ। आज अलिपुरद्वारको सभा मञ्चबाट मुख्यमन्त्री तथा तृणमूल सुप्रिमो ममता ब्यानर्जीले केन्द्रको सत्तारूढ़ दल भाजपाविरुद्ध कठोर शब्दमा आक्रमण गरिन्। तिनले मत काट्ने षड़यन्त्र रोक्न साथै भाजपालाई राजनीतिक रूपले विनाश गर्नुपर्ने आह्वान गरिन्।
भाजपा मत विभाजन गर्ने षड़यन्त्रमा लागेको आज अलिपुरद्वारको जनसभाबाट ममता ब्यानर्जीले आरोप लगाइन्। मतदाताहरूप्रति तिनले भनिन्, मत काट्ने षड़यन्त्रविरुद्ध उभिनुहोस्। यस जिल्लाको भूमिमा भाजपालाई राजनीतिक रूपले समाप्त पार्नुहोस्। उत्तर बङ्गालको भूमिमा उभिएर तिनले स्पष्ट सङ्केत दिइन् कि आगामी चुनाउमा घासफूल शिविर एक इञ्च जमीन पनि भाजपालाई छोड्न तयार छैन।
भाजपाविरुद्ध मतदातालाई प्रभावित पार्ने आरोप लगाउँदै मुख्यमन्त्रीले भनिन्, के गरेका छन् तिनीहरूले? बाहिरबाट मानिस ल्याएर होटल बूक गरी पैसा वितरण गरिरहेका छन्। जब बाढ़ी आएको थियो तब तिनीहरू कहाँ थिए? भाजपाले जनसेवाको साटो शक्तिबल र धनबलको राजनीतिमा विश्वास गर्ने तिनले दाबी पनि गरिन्।
भाजपाका सांसद र विधायकहरू जनताबाट टाढ़िएको स्थितिबारे कटाक्ष गर्दै ममता ब्यानर्जीले लोकप्रिय गीतको पङ्क्ति उद्धृत गर्दै भनिन्, हावा, पानी, चक्रवात, बाढ़ीमा, घर भत्किँदा वा विकासको काममा तिनीहरू देखिँदैनन्। त्यसैले चुनाउको समयमै म भनिदिन्छु आगामी पाँच वर्ष तिनीहरूलाई देखिँदैन, तपाईँहरूलाई हेर्ने छैनन्। तिनले थपिन्, बङ्गालमा भाजपाको स्थिति राम्रो छैन अनि जनतालाई साथ नदिएको परिणाम तिनीहरूले भोग्नु पर्नेछ। तृणमूल र भाजपाबीच मुख्य भिन्नता स्पष्ट पार्दै ममता ब्यानर्जीले भनिन्, तिनीहरू र हामीबीच फरक के हो, थाहा छ? हामी समस्याको समाधान गर्छौँ अनि तिनीहरूले अत्याचार गर्छन् र जनतासित दूरी बढ़ाउँछन्। साधारण जनतालाई भाजपाबाट टाढ़ा रहने आग्रह गर्दै तिनले आफ्नो सरकारको विकासमूलक कार्यहरूको विवरण प्रस्तुत गरिन्।

By Paromita