बङ्गालको पछिल्लो स्थितिबारे केन्द्रीय एजेन्सीहरूको अत्यधिक सक्रियता र राजनीतिक दबाउको विषयमा मुख्यमन्त्री ममता ब्यानर्जीले कठोर प्रतिक्रिया जनाएकी छन्। बिहीवार माथाभाङ्गाको घोक्साडाङ्गा छोटो शिमुलगुड़ी मैदानमा आयोजित जनसभाबाट मुख्यमन्त्रीले प्रतिक्रिया दिँदै विपक्षी खेमाका राष्ट्रिय स्तरका नेताहरू तिनीसित सम्पर्कमा रहेका बताइन्। मुख्यमन्त्रीले भनिन्, उद्धव ठाकरे, अखिलेश यादव, एमके स्टालिन र तेजस्वी यादवले मसित कुराकानी गरिरहेका छन्। देशका विभिन्न क्षेत्रका नेताहरूले बङ्गालमा भाजपाले कसरी अत्याचार गरिरहेको छ भनेर बुझेका छन्।
आजको सभाबाट मुख्यमन्त्रीले लोकसभामा प्रस्तुत गरिएको महिला आरक्षण विधेयक र डिलिमिटेशनको विषयमा कठोर आलोचना गरिन्। तिनले प्रश्न उठाइन्, किन महिला आरक्षण विधेयकसित डिलिमिटेशनलाई जोड़िँदैछ? यसको पछाड़ि गहिरो षड़यन्त्र रहेको मुख्यमन्त्रीले सिधै आरोप लगाइन्। दाबी गर्दै तिनले भनिन्, यो वास्तवमा राज्य विभाजन अनि मतदाताहरूको नाम काट्ने ठूलो योजना हो। डिलिमिटेशनको नाममा केन्द्र सरकारले वास्तवमा एनआरसी लागू गर्ने षड़यन्त्र गरिरहेको छ।
माथाभाङ्गाको सभाबाट ममता ब्यानर्जीले थप भनिन्, भाजपा डर देखाएर बङ्गाललाई दबाउन चाहन्छ। तर म र मेरो दलले यस अत्याचारविरुद्ध लड़ाईँ जारी राख्नेछौँ। डिलिमिटेशनको विषयमा सर्वसाधारण मानिसहरूलाई सचेत गराउँदै तिनले भनिन्, साधारण नागरिकको अधिकार खोस्ने कुनै पनि प्रयासलाई सफल हुन दिइने छैन। राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरूको समर्थनको उल्लेख गर्दै तिनले स्पष्ट पारिन् कि छब्बीसको चुनाउ मैदानमा इण्डिया गठबन्धनले एकजुट भएर भाजपाविरुद्ध लड़ाईँ लड्नेछ।
डिलिमिटेशन राज्य विभाजन अनि मतदाताहरूको नाम काट्ने ठूलो योजना : मुख्यमन्त्री
