कालेबुङमा बूथ निरीक्षण गर्दै एसपी–जिल्ला शासक

चुनाउमा अशान्ति रोक्न कालेबुङ जिल्ला प्रशासनले कठोर कदम चालेको छ। अघिल्लो चुनाउमा हिंसाग्रस्त क्षेत्रहरू पहिचान गरेर यसपल्ट कालेबुङ जिल्ला प्रशासनले कठोर सुरक्षा अभियान आरम्भ गरेको छ। राज्यका मुख्य सचिव दुश्यन्त नारियाला तथा सीईओ मनोज कुमार अग्रवालको निर्देशनअनुसार विधानसभा चुनाउलाई भयमुक्त र निष्पक्ष बनाउन कालेबुङका जिल्ला शासक कुहुक भूषण, पुलिस अधीक्षक अपराजिता राई र सीएपीएफको–अर्डिनेटरको उच्च स्तरीय टोलीले जिल्लाका अति संवेदनशील मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन्।
मुख्यतः हिंसाविरुद्ध जिरो टलरेन्स नीति अपनाइएको कालेबुङ जिल्ला प्रशासनले जनाएको छ। अघिल्लो चुनाउमा जहाँ जहाँ अशान्ति भएको थियो ती बूथहरूमा शान्ति कायम राख्न कठोर सुरक्षा रणनीति अपनाइएको छ। मतदाताको सुरक्षालाई सुनिश्चित गर्न विशेष जोड़ दिइएको छ। मतदाताहरूले कुनै पनि किसिमको धम्की वा भयबिना आफ्नो मतदान अधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले पुलिस र केन्द्रीय बललाई 24 घण्टा सतर्क रहने निर्देशन दिइएको छ। कालेबुङका जिल्ला शासक कुहुक भूषणले भने, मुख्य सचिव र राज्यका सीईओको कार्यालयबाट आएका निर्देशनहरूअनुसार हामीले कार्य गरिरहेका छौँ। संवेदनशील क्षेत्रहरूमा निरीक्षण गरिरहेका छौँ। यसपल्ट कालेबुङ जिल्लामा कुनै पनि अशान्ति वा हिंसा हुन दिइने छैन। जनतालाई शान्तिपूर्ण र पारदर्शी चुनाउ वातावरण दिन हामी निरन्तर मैदानमा छौँ।
चुनाउमा अशान्ति सिर्जना गर्नेहरूलाई पुलिस प्रशासनले कठोर चेताउनी दिएको छ। कालेबुङका पुलिस अधीक्षक अपराजिता राईले भनिन्, चुनाउमा बाधा पुर्यािउने वा अशान्ति फैलाउने सबैमाथि कठोर कानूनी कारवाही गरिनेछ। चुनाउ अवधि कुनै पनि प्रकारको हेरफेर, अवैध आर्थिक लेनदेन वा मदपानजस्ता असामाजिक गतिविधि रोक्न प्रशासनले गोप्य निगरानी बढ़ाएको छ। जिल्ला प्रशासनका सूत्रअनुसार कालेबुङ जिल्लामा मतदाताको सङ्ख्या 2 लाख 1 हजार 931 रहेको छ। जिल्लामा मोठ 293 मतदान केन्द्रहरू छन्। यसपल्ट कालेबुङ जिल्लामा दुर्गम बूथ छैन। कालेबुङमा महिला सञ्चालित बूथ अर्थात् पिङ्क बूथ सङ्ख्या चार रहेको छ। जिल्लामा चुनाउ सम्बन्धी कण्ट्रोल रूम सञ्चालनमा ल्याइएको छ। प्रत्येक मतदान केन्द्रमा चारजना मतदानकर्मी रहनेछन्। चुनाउ आयोगको निर्देशनअनुसार प्रत्येक केन्द्रमा वेबकास्टिङ र सुरक्षा बलको तैनाथी रहनेछ।

By Paromita