पुनः पत्र दिने न्यायालयको स्वप्न बर्मनलाई निर्देशन

रेलको जागिरबाट औपचारिक रूपमा अवकाश नलिई एशियाडमा स्वर्ण पदक जितेकी स्वप्ना बर्मन राजनीतिक दलमा सहभागी भएकी छन्। तिनलाई राजगञ्ज क्षेत्रमा अल इण्डिया तृणमूल कङ्ग्रेसले उम्मेद्वार बनाएको छ। उम्मेद्वार बनेपछि स्वप्नाले प्रचार पनि आरम्भ गरिसकेकी छन्। तर तिनको चुनाउमा प्रतिस्पर्धा गर्ने विषयमा उत्पन्न भएको जटिलता अहिलेसम्म हटेको छैन। आफ्नै गल्ती स्वीकार गर्दै रेललाई पुनः पत्र दिन स्वप्ना बर्मनलाई न्यायालयले निर्देशन दिएको छ। 2018 मा एशियाडमा स्वर्ण पदक जितेकी स्वप्नाले त्यसपछि 7 जनवरी 2020 मा उत्तर–पूर्व सीमावर्ती रेलको अलिपुरद्वार डिभिजनमा स्टाफ एण्ड वेलफेयर इन्स्पेक्टरको रूपमा जागिर आरम्भ गरेकी थिइन्। गएको महीना तिनी तृणमूल कङ्ग्रेस मा सामेल भइन्। जागिरबाट राजीनामा नदिई तिनी राजनीतिक दलमा प्रवेश गरेकी आरोप छ। जागिरबाट राजीनामा नदिई राजनीतिक दलमा सामेल भएकाले स्वप्नाविरुद्ध अनुशासन उल्लङ्घनको आरोप लागेको छ। यस विषयमा रेलले जाँच आरम्भ गरेको छ।
यद्यपि स्वप्नाका वकिल निलय चक्रवर्तीअनुसार, तिनले गत 16 मार्चमा जागिरबाट राजीनामा दिएकी थिइन्। तर रेलले उक्त राजीनामा स्वीकार गरेको छैन। यति मात्र होइन यस विषयमा तिनले कलकत्ता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चमा मुद्दा दर्ता गरेकी छन्। गल्ती स्वीकार गरी रेललाई पत्र दिन न्यायालयले तिनलाई निर्देशन दिएको थियो।
सूत्रअनुसार पत्र दिइए पनि न्यायालयको निर्देशनअनुसार दिइएको थिएन। त्यसैले कलकत्ता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चका न्यायाधीश गौराङ्ग कान्थले स्वप्नालाई पुनः इण्डियन रेल्वेलाई पत्र दिन निर्देशन दिएका छन्। सर्किट बेञ्चका डेपुटी सोलिसिटर जनरल सुदीप्त मजुमदारले भने, स्वप्ना बर्मनले चुनाउ लड्ने वा नलड्ने पूर्ण रूपमा तिनको विषय हो। तर कानूनमा जे उल्लेख छ त्यसलाई पालना गर्नुपर्छ। रेललाई दिनुपर्ने पत्र न्यायालयको निर्देशनअनुसार नै हुनुपर्छ। तिनले बताएअनुसार न्यायालयको आदेश थियो कि यदि पत्रमा स्वप्ना बर्मनले आफ्नो गल्ती स्वीकार गर्छिन्, जागिरबाट अवकाश चाहन्छिन् र रेलबाट पाएको सम्पूर्ण रकम फिर्ता गर्न तयार हुन्छिन् भने रेलतर्फबाट त्यसलाई विचार गरिनुपर्छ। तर उक्त पत्रमा यी कुनै कुरा पनि उल्लेख गरिएको थिएन। डेपुटी सोलिसिटर जनरलले भने, स्वप्नाविरुद्ध रेलले अनुशासनात्मक कारवाही गरिरहेको छ। या त तिनलाई त्यस्तो कारवाहीको सामना गर्नुपर्नेछ, या त गल्ती स्वीकार गर्नुपर्नेछ। सूत्रअनुसार आफ्ना वकिलसितै स्वप्ना बर्मनले नयाँ पत्र अलिपुरद्वार डीआरएम कार्यालयमा प्रस्तुत गरेकी छन्। यस विषयमा आगामी शुक्रवार फेरि न्यायालयमा सुनुवाइ हुनेछ।

By Paromita