बङ्गाल जितेपछि दिल्ली कब्जा गर्छौँ : ममता

उत्तर बङ्गाल भ्रमणमा आएर डाबग्राम–फूलबारीको जबराभिट्टा हाई स्कूल मैदानबाट दिल्ली कब्जा गर्ने आह्वान गरिन् मुख्यमन्त्री तथा तृणमूल नेतृ ममता ब्यानर्जीले। बुधवार मैनागुड़ीपछि दोस्रो जनसभाबाट ममता ब्यानर्जीले भाजपा र चुनाउ आयोगलाई एकसाथ आक्रमण गरिन्। आफ्ना प्रशासनिक अधिकारीहरूलाई हटाएर भाजपा समर्थित अधिकारीहरूलाई राखिएको आरोप लगाउँदै नेतृले स्पष्ट चेताउनी दिइन्, मलाई थिच्न खोज्दैछन्? तिनीहरूलाई थाहा छैन घाइते बाघ अझै भयङ्कर हुन्छ। बङ्गाल कब्जा गरेर दिल्ली कब्जा गर्नेछौँ भनेर आगामी दिन देखाउनेछु। भाजपाको प्रचार रणनीतिलाई लक्षित गर्दै ममताले भनिन्, तिनीहरूसित चुनाउअघि वाचा मात्र हुन्छ र भोटपछि बुल्डोजर चलाउने काम हुन्छ। खाना पकाउने ग्यासको मूल्यवृद्धि र रेल भाड़ा वृद्धि विषयमा केन्द्र सरकारलाई आक्रमण गर्दै तिनले भनिन्, सामान्य मानिसहरूको जीवनयापन कठिन हुँदै गइरहेको छ। यसको विपरीत आफ्नो सरकारका उपलब्धिहरू प्रस्तुत गर्दै तिनले भनिन्, हाम्रा 105 वटा योजना छन्। वाचा गरेपछि म त्यसलाई पूरा गर्छु।
आज सभाबाट मुख्यमन्त्रीले द्वारे सरकारको ढाँचामा अब द्वारे स्वास्थ्य योजना आरम्भ हुने जानकारी दिइन्। तिनले भनिन्, अब उपचारका लागि टाढ़ा जानुपर्ने छैन। तपाईँको घरनजिक शिविर हुनेछ जहाँ डाक्टर उपलब्ध हुनेछन्। उत्तर बङ्गालका जिल्लाहरूलाई बिहारसित जोड्ने षड़यन्त्र रहेको तिनले जबराभिट्टाबाट पनि आरोप दोहोर्यालइन्। ममताले भनिन्, उत्तर बङ्गाललाई छुट्टै राज्य बनाएर बङ्गाललाई फेरि कमजोर बनाउन चाहन्छन्? त्यो कहिल्यै हुन दिँदैनौँ। एसआईआर मुद्दामा भाजपा र चुनाउ आयोगलाई एउटै स्थानमा राख्दै तिनले आक्रमण गरिन्, मानिसहरूमाथि अत्याचार गर्नेहरू पानीमा डुबेर मर्नुपर्ने हो।
असमयको वर्षाका कारण प्रभावित उत्तर बङ्गालका आलु किसानहरूलाई आश्वासन दिँदै मुख्यमन्त्रीले भनिन्, बाली बीमा गरिएकाले किसानहरूले छिट्टै क्षतिपूर्ति पाउनेछन्। जनताको अधिकारको रक्षा गर्न तिनले सड़कदेखि सर्वोच्च न्यायालयसम्म लड़ाईँ लड़ेकी बताउँदै भविष्यमा लडिरहने प्रतिबद्धता जाहेर गरिन्। डाबग्राम–फूलबारी क्षेत्रका तृणमूल उम्मेद्वार रञ्जन शील शर्माको समर्थनमा आयोजित यस सभामा ममताले आगामी चुनाउमा तिनको मुख्य हतियार नै जनताको आशीर्वाद रहने बताइन्।

By Paromita