अलिपुरद्वारका दुर्गम मतदान केन्द्रमा वेब कास्टिङबारे बैठक

यसपल्ट विधानसभाको चुनाउमा प्रत्येक वेब कास्टिङ राज्यका सबै मतदान केन्द्रमा अनिवार्य गरिएको छ। तर अलिपुरद्वार जिल्लाका कुमारग्राम, कालचिनी र मदारीहाट विधानसभा क्षेत्रमा यस्ता धेरै मतदान केन्द्रहरू छन् जहाँ अहिलेसम्म इण्टरनेट त परको कुरा सामान्य मोबाइल नेटवर्कसमेत उपलब्ध छैन। यो विषय ध्यानमा आएपछि अलिपुरद्वार जिल्ला प्रशासन सक्रिय भएको छ।
यसअघि नै नेटवर्क नपुगेका क्षेत्रमा रहेका जिल्लाका कम्तीमा 53 वटा दुर्गम मतदान केन्द्र पहिचान गरिएको छ। चुनाउको दिन ती केन्द्रहरूमा मोबाइल र इण्टरनेट सेवा उपलब्ध गराउन अलिपुरद्वार जिल्ला अधिकारी मयुरी भासुले डुवर्सकन्या भवनमा विभिन्न मोबाइल नेटवर्क सेवा प्रदायकहरूसित बैठक गरेकी छन्। बैठकमा सम्बन्धित सेवा प्रदायकहरूलाई आगामी दुई दिनभित्र पूर्ण प्रतिवेदन तयार गरी फेरि शुक्रवारको बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ। यद्यपि बैठकपछि ती सेवा प्रदायकहरूले सञ्चारमाध्यमसित कुराकानी गर्न अस्वीकार गरे।
बैठकमा उठाइएको विषयअनुसार कुमारग्राम विधानसभा क्षेत्रका संकोश टापु र जयदेवपुर टापुजस्ता दुर्गम क्षेत्रका मतदान केन्द्रहरू अझै मोबाइल नेटवर्कको पहुँचमा आएका छैनन्। त्यसै गरी कालचिनी विधानसभा क्षेत्रको बक्सा पहाड़का धेरै केन्द्रहरूमा इण्टरनेट सेवा छैन। अर्कातिर मदारीहाट विधानसभा क्षेत्रको टोटोपाड़ा र कालापानी क्षेत्रदेखि भूटान सीमासित जोड़िएको लङ्कापाडा क्षेत्रमा समेत मोबाइल नेटवर्कको समस्या रहेको छ। बैठकपछि जिल्ला अधिकारीले भनिन्, चुनाउ आयोगको निर्देशनअनुसार जिल्लाका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मोबाइल र इण्टरनेट सेवा उपलब्ध गराई जिल्लाका 100 प्रतिशत केन्द्रमा चुनाउको दिन वेब कास्टिङको व्यवस्था गर्न हामी पूरा प्रयास गरिरहेका छौँ। शुक्रवारको दोस्रो बैठकपछि कुनै समाधान निस्कने आशा छ।

By Paromita