दुई वर्षपछि नयाँ पुल सञ्चालनमा

उत्तर सिक्किमको लाचेनमा खुसीको वातावरण छ। लामो प्रतीक्षापछि फेरि लाचेनमा पर्यटकहरूको भीड़ बढ्ने आशा गरिएको छ जसले सिक्किम प्रशासनसितै पर्यटन क्षेत्रलाई पनि उत्साहित बनाएको छ। लगभग दुई वर्षअघि तीव्र पानीको बहाउका कारण एउटा पुल भत्किँदा चुङथाङ र लाचेनबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छिन्न भएको थियो। त्यसपछि लाचेन लगभग पर्यटन नक्साबाट बाहिरिएको थियो र स्थानीय वासिन्दाहरू आम्दानीविहीन भएका थिए। आइतवार नयाँ पुल उद्घाटनसितै तिनीहरूको अनुहारमा पुनः मुस्कान फर्किएको छ। यो केवल नयाँ सम्पर्क मार्ग खोलिएको मात्र होइन नयाँ इतिहास पनि बनेको छ, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले भने। लाचेन–मङ्गनका विधायक तथा मन्त्री सेण्डुप लेप्चाले भने, स्टिलबाट बनेको यस पुलले भविष्यमा प्राकृतिक विपत्तिको सामना गर्न सहयोग पुर्यासउनेछ। यसले पर्यटकहरू मात्र होइन लाचेनका हजारौँ वासिन्दालाई पनि यातायात समस्याबाट मुक्ति दिनेछ।
पश्चिमी झञ्झा पहाड़मा ठोक्किनअघि नै उत्तर सिक्किममा पर्यटकहरूको ओइरो लाग्ने गर्छ। हिउँपातको अनुभव गर्न पर्यटकहरू समूहमा यहाँ आउने गर्छन्। लाचुङ र लाचेन तिनीहरूको प्रमुख गन्तव्य बन्ने गर्दछ। तर चुङथाङदेखि लाचेनसम्म सम्पर्क टुटेपछि पछिल्ला दुई वर्षदेखि लाचेनमा पर्यटक प्रवेशमाथि प्रतिबन्ध लगाइएको थियो। यसकारण यो वर्ष लाचुङमा पर्यटकहरूको भीड़ बढ़े पनि समग्रमा उत्तर सिक्किमको पर्यटन व्यवसाय प्रभावित भएको थियो। स्थानीय वासिन्दा र पर्यटन क्षेत्रले पुल निर्माण चाँड़ै सम्पन्न गर्न माग गरिरहेका थिए जुन माग आइतवार पूरा भएको छ। तर प्रतिबन्ध कहिलेदेखि हटाइने र पर्यटकहरूलाई लाचेन जान अनुमति दिइनेछ भन्ने कुरा स्पष्ट भएको छैन।
पर्यटन विभागका एक अधिकारीले भने, पुल सञ्चालनमा आए पनि केही स्थानमा सड़क मरम्मती गर्नु पर्नेछ। तर त्यस कामका लागि धेरै समय लाग्ने छैन। सड़क मरम्मती सकिएपछि सबै पक्षको समीक्षा गरेर पर्यटकहरूलाई अनुमति दिने विषयमा निर्णय गरिनेछ। पुल सञ्चालनमा आएसितै अब लाचेन जान धेरै समय पर्खनु नपर्ने विश्वास हिमालयन हस्पिटालिटी एण्ड टुरिज्म नेटवर्कका महासचिव सम्राट सन्यालले व्यक्त गरेका छन्।

By Paromita