एक समय लाटागुड़ी र गोरुमारा जङ्गलसित संलग्न मटेली ब्लकको बिछाभाङ्गा र सुरश्रुति वनबस्तीका वासिन्दा हात्तीको आक्रमणका कारण निरन्तर त्रासमा बस्थे। कृषि जमीन नष्ट गर्नुसितै घरहरू भत्काइदिने घटना दैनिक जस्तै हुन्थ्यो। हात्तीको आक्रमण रोक्न गाउँका युवाहरूले टर्च र मशाल लिएर रातभरि पहरा दिन आरम्भ गरेका थिए। तर पछिल्ला दुई वर्षदेखि चिन्ता घटेको छ। कारण वनबस्तीका वासिन्दाले एकजना पहरादार पाएका छन्। त्यसको डरले अरू कुनै दाँताल वा माक्ना हात्ती त्यस क्षेत्रमा पस्न सकेको छैन। आदिवासीहरूले माया गरेर त्यसलाई लुड्का बाबा भनी बोलाउँछन् जसको अर्थ आफ्नै इच्छाअनुसार चल्ने हो।
उक्त पहरादारको शरीर पनि अत्यन्त विशाल छ। त्यसले त्यहाँ अन्य कुनै हात्तीलाई प्रवेश गर्न दिँदैन। हात्ती विशेषज्ञ पार्वती बरुआले भनिन्, हात्ती संवेदनशील प्राणी हो। मानिसले कुनै हानि गर्दैन भन्ने बुझ्न सके द्वन्द्व टार्न सम्भव हुन्छ।
जलपाइगढ़ी वन विभागका डीएफओ विकास भीले भने, यो दाँताल पूर्ण वयस्क हो। सामान्यतः यस्तो हात्ती एकलै बस्न रुचाउँछ। आफ्नै क्षेत्र रोजेर बस्न मन पराउँछ। बाघको जस्तै स्पष्ट क्षेत्राधिकार हात्तीको हकमा सधैँ हुँदैन। सम्भवतः यस हात्तीले क्षेत्रको वातावरण र मानिसहरूको स्वभावबारे बुझिसकेको छ। त्यसैले निश्चित क्षेत्रमा मात्र विचरण गरिरहेको छ। नेफका प्रवक्ता अनिमेष बसुले भने, उमेरका कारण धेरै हात्ती एकलै बस्न सहज मान्छ। त्यस अवस्थामा तिनीहरूले आफ्नै क्षेत्र बनाउँछन्।
दाँतल हात्ती नै पहरादार
