तीन दशक लामो उपेक्षापछि रूप, रस र सुगन्ध गुमाउँदै सङ्कटमा परेको पहाड़की रानी दार्जीलिङ सुन्तलाको उत्पादन अहिले घट्दै गइरहेको छ। सुन्तलाको पुरानो गरिमा फर्काउन उत्तर बङ्गाल कृषि विश्वविद्यालय सक्रिय भएको छ। यस उद्देश्यका लागि विश्वविद्यालयले अनुसन्धान आरम्भ गरेको छ। यस क्रममा दार्जीलिङ पहाड़का विभिन्न क्षेत्र भ्रमण गरी रोगमुक्त सुन्तला बोटबाट टिस्यु अर्थात् कोषिका सङ्कलन गरिएको छ।
उत्तर बङ्गाल कृषि विश्वविद्यालय कोचबिहार जिल्लाको पुण्डिबारीमा अवस्थित छ। विश्वविद्यालयका उपकुलपति देवव्रत बसुले दार्जीलिङ सुन्तलाको पुरानो गरिमा फर्काउने पहल आरम्भ गरिएको जानकारी दिएका हुन्। तिनीअनुसार रोगमुक्त नयाँ सुन्तलाका बिरुवा उत्पादन गर्नका लागि अनुसन्धान थालिएको हो र केही वर्षभित्रै यसमा सफलता प्राप्त हुने आशा गरिएको छ।
चिया र पर्यटनसितै दार्जीलिङ सुन्तलाको ख्याति विश्वभरि फैलिएको छ। जाड़ो याममा पाइने यस फललाई स्थानीय वासिन्दा र पर्यटकहरूमाझ पहाड़को रानी फल भनेर चिनिन्छ। तर पहिले जस्तो यसको माग अहिले विश्व बजारमा त्यति छैन। यसको स्थान देशका अन्य क्षेत्रका किन्न वा सुन्तलाले ओगट्दै गएका छन्। प्रशासन र स्थानीय सूत्रअनुसार विगत 30-35 वर्षदेखि सुन्तलाका बघैँचाको नियमित हेरचाह हुन सकेको छैन। पुराना बोट हटाएर नयाँ बोट रोपिएको छैन। रोग र कीराको प्रकोप बढ़े पनि त्यसको नियन्त्रणका लागि पर्याप्त पहल गरिएको छैन। यसकारण यहाँको सुन्तलाले आफ्नो रूप, रस र सुगन्ध गुमाएको हो।
यसै पृष्ठभूमिमा तीन महीनाअघि केन्द्र सरकारबाट दार्जीलिङको सुन्तलाले जीआई ट्याग प्राप्त गरेको छ। अब पहाड़को रानीको गुणस्तर पुनःस्थापना गर्न उत्तर बङ्गाल कृषि विश्वविद्यालय अघि आएको छ। विश्वविद्यालय सूत्रअनुसार कुनै समय दार्जीलिङ पहाड़को सुन्तला आकारमा ठूलो हुन्थ्यो। बोक्रा पातलो हुन्थ्यो र बोक्रा फलसित दह्रो प्रकारले टाँसिएको हुन्थ्यो। यसको स्वाद अमिलो–मिठो हुन्थ्यो र रस पनि प्रशस्त हुन्थ्यो। तर तीन दशकदेखि यहाँ सुन्तला खेतीमा ह्रास आएको छ। अब त्यो पुरानो आकार, रूप, रस र सुगन्ध बाँकी छैन। सुन्तलाको त्यो गरिमा फर्काउन विश्वविद्यालय प्रशासनले दार्जीलिङ र कालेबुङ पहाड़ क्षेत्रमा सर्वेक्षण गरी रोगमुक्त र राम्रो उत्पादन दिने सुन्तला बोट पहिचान गरेको छ। ती बोटका हाँगा सङ्कलन गरी कालेबुङ र पुण्डिबारीका प्रयोगशालामा अनुसन्धान भइरहेको छ। साथै मङ्पुस्थित उद्यान विभागको अनुसन्धान केन्द्रमा पनि यस विषयमा अध्ययन जारी छ। हाल पहाड़ क्षेत्रमा लगभग 4150 हेक्टर जमीनमा सुन्तलाका बघैँचा छ। कृषि विश्वविद्यालयका एक प्राध्यापकका अनुसार राम्रो बोटको टिस्यु प्रयोग गरी प्रयोगशालामा सुन्तलाका नयाँ बोट तयार गरिनेछ। प्राकृतिक वातावरणसित अभ्यस्त गराउन ती बिरुवाहरू पहाड़का कुनै नर्सरीमा राखिनेछन्। त्यसपछि ती बिरुवा किसानहरूलाई वितरण गरिनेछ। यसका अतिरिक्त रोगमुक्त अन्य कागती प्रजातिका बोटसित सुन्तलाको क्रस अर्थात् संकरण गरी नयाँ सुन्तलाका बिरुवा उत्पादन गर्ने योजना पनि रहेको छ।
दार्जीलिङ सुन्तलाको गरिमा फर्काउन अनुसन्धान
