जाली प्रमाण-पत्र प्रकरणमा सिलगढ़ीकी महिला एजेण्ट पक्राउ

खोरीबारी ग्रामीण अस्पतालमा भएको जाली जन्म–मृत्यु प्रमाणपत्र प्रकरणअन्तर्गत सिलगढ़ीकी एक महिला एजेण्टलाई पक्राउ गरिएको छ। यसपछि यस प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या पाँच पुगेको छ। पुलिस सूत्रअनुसार पक्राउ परेकी महिलाको नाम निलिमा राय हो। तिनी सिलगढ़ीको अरविन्दपल्लीकी निवासी हुन् र जालसाजी गिरोहको एजेण्टका रूपमा तिनले काम गर्थिन्।
स्वास्थ्य विभागका सूत्रले दिएको जानकारीअनुसार, खोरीबारी ग्रामीण अस्पतालबाट यो वर्ष मईदेखि जुलाई महीनासम्मको अवधिमा लगभग 870 वटा नक्कली प्रमाणपत्र जारी भएको तथ्य बाहिर आएको छ। स्वास्थ्य विभागको उजुरीको आधारमा जाँच अघि बढ़ाउँदै पुलिसले मुख्य आरोपी पार्थ साहासहित पाँचजनालाई पक्राउ गरेको हो। आरोपी पार्थ साहाबाट ठूलो रकमको साटो उक्त महिलाले जन्म–मृत्यु प्रमाणपत्रहरू तयार गर्थिन् भन्ने आरोप छ। यस जालसाजी गिरोहको जाल धेरै टाढ़ासम्म फैलिएको पुलिसले अनुमान गरेको छ।
मङ्गलवार राति लामो सोधपुछपछि पुलिसले उक्त महिलालाई पक्राउ गरी बुधवार तिनलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरेको छ। खोरीबारी पुलिसले तिनलाई रिमाण्डमा लिएर गिरोहसित संलग्न अन्य व्यक्तिहरूको खोजी आरम्भ गरेको जनाएको छ। सूत्रअनुसार, स्वास्थ्य विभागले तयार पारेको नक्कली प्रमाणपत्रहरूको सूचीका आधारमा राज्यभरका विभिन्न पुलिस थानाहरूले पनि यस प्रकरणसित जोड़िएका अन्य एजेण्टहरूको खोजी थालेका छन्। पुलिसले यस जालसाजी गिरोहसित सम्बन्धित धेरै नयाँ जानकारीहरू उजागर हुने सम्भावना रहेको जनाएको छ।

By Piyali Poddar