सिलगढ़ी महानगर पुलिसको भक्तिनगर थानाअन्तर्गत एण्टी क्राइम विङले बिहीवार राति ठूलो सफलता हात पारेको छ। गुप्त सूचनाका आधारमा सञ्चालन गरिएको अभियानमा पुलिसले एकजना आरोपीलाई पक्राउ गरी तिनीबाट एउटा स्वचालित पिस्तोल अनि दुई राउण्ड कारतुस जफत गरेको छ।
पुलिस सूत्रअनुसार बिहीवार राति सिलगढ़ी नगर निगमको 41 नम्बर वार्डअन्तर्गत बैकुण्ठपल्ली शिव मन्दिर क्षेत्रमा एकजना शङ्कास्पद युवक घुमिरहेको गुप्त जानकारी प्राप्त भएको थियो। सूचना पाएपछि एण्टी क्राइम विङ त्यहाँ पुग्यो तर पुलिस पुग्नअघि नै युवकले त्यहाँबाट सुइँकुच्चा ठोकिसकेको थियो।
पछि सूत्रहरूको सहयोगमा आरोपीको पहिचान र घरको ठेगानाको पत्तो लगाई पुलिसले तिनको घरमै पुगेर तलासी अभियान चलायो। तलासीका क्रममा एउटा स्वचालित पिस्तोल अनि दुई राउण्ड कारतुस फेला पऱ्यो। त्यसपछि आरोपीलाई तत्काल पक्राउ गरिएको हो। पक्राउ परेका युवकको नाम सौविक कुण्डु उर्फ टिपु रहेको बताइएको छ। भक्तिनगर थाना पुलिसले तिनलाई जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरेको छ। सौविकले उक्त हतियार र कारतुस कहाँबाट ल्याए भनेर पुलिसले जाँच गरिरहेको छ।
आग्नेयास्त्रसहित युवक पक्राउ
