विश्‍वका १० मुलुकसँग ७५ प्रतिशत कोरोना खोप : महासचिव गुटेरस

कोरोना भाइरसविरुद्धको खोपको असमान वितरण भइरहेको भन्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले कडा आलोचना गरेका छन् । 

महासचिव गुटेरसले कोरोनाविरुद्धको खोप अभियान असमान र अनुचित भएको भन्दै आलोचना गरेका हुन् । उनले कुल कोरोना खोपको ७५ प्रतिशत हिस्सा १० देशले नियन्त्रण गरेको बताएका छन् ।

बुधबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरसले भने, ‘विश्वमा अहिले पनि १३० मुलुक यस्ता छन्, जहाँ अहिलेसम्म कोरोनाको एक डोज खोप उपलब्ध गराइएको छैन ।’ उनले कोरोना महामारीले निम्त्याएको कठिन परिवेशमा खोपको समान वितरण वैश्विक समुदायको नैतिक परीक्षा भएको बताए ।

महासचिव गुटेरसले आपत्कालीन खोप अभियान सबै मिलेर सुरु गर्नुपर्नेमा पनि जोड दिएका छन् । खोपको समान वितरण सुनिश्चित गर्न पनि विश्व समुदायलाई उनले अनुरोध गरेका छन् । जी–२० का ठूला अर्थतन्त्र भएका मुलुकहरूले खोप अभियानका लागि एउटा आपत्कालीन टास्क फोर्स गठन गर्नुपर्ने पनि उनले बताए । त्यस्तो टास्क फोर्समा औषधि निर्माता कम्पनीलाई समेट्न र विश्वका सात ठूला औद्योगिक देशले यसमा स्रोत जुटाउनपर्नेमा पनि महासचिव गुटेरसले जोड दिएका छन् ।

सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका बेलायतका विदेशमन्त्री डोमिनिक राबले संघर्ष जारी रहेका क्षेत्रमा युद्धविराम गराइएमा खोप पुऱ्याउन कुनै समस्या नरहेको बताएका छन् । बेलायतले करिब १६ करोड मानिस खोप अभियानको दायराबाट बाहिर रहने अवस्था रहेको बताएको छ । कुनै न कुनै रुपको हिंसात्मक गतिविधिका कारण विश्वका विभिन्न क्षेत्रका १६ करोड मानिस खोप अभियानबाट वञ्चित हुन सक्ने देखिएको हो । यमन, सिरिया, दक्षिण सुडान, सोमालिया र इथियोपियाजस्ता मुलुकमा द्वन्द्व जारी रहेकाले खोप अभियानमा चुनौती देखापर्ने सम्भावना रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *