अशोक लेल्याण्डको विद्युतीय वाहन शाखा स्विच मोबिलिटी लिमिटेडले दुईवटा नवीन विद्युतीय सिटी बसहरू सार्वजनिक गरेर दिगो यातायात क्षेत्रमा हलचल मच्चाएको छ। स्विच मोबिलिटीले भारतका लागि स्विच ईआईभी12 र युरोपका लागि स्विच ई1 बसहरू सार्वजनिक गरेको छ। स्विच ईआईभी12 भारतको पहिलो लो-फ्लोर सिटी बस हो जसको च्यासिसमा ब्याट्रीहरू जड़ान गरिएका छन्। यस बसमा उपलब्ध 400+ किलो वाटसम्म स्केलेबल ब्याट्री शहरी क्षेत्रमा आवतजावतका लागि उपयुक्त छ। यस बसलाई शहरी सड़कमा यातायात गर्नका लागि डिजाइन गरिएको छ। सड़क यातायात तथा राजमार्ग मन्त्री श्री नितिन गडकरीले खेल नै पल्टाउन सक्ने यी बसहरूको सार्वजनिक गरेका हुन् अनि तिनले उन्नत सुरक्षा, आरामदायक यात्रा र पहुँचयोग्यताको वचन दिएका छन्। यसको डिजाइनमा महिलाको सुरक्षालाई प्राथमिकता दिइएको छ जसमा जड़ान गरिएको सिसिटिभी क्यामेरा अनि दिव्याङ्ग यात्रीहरूका लागि विशेष स्थान यसको विशेषता हो।
इन-ह्वील मोटर्स र यात्रीहरूको सहज ओहोरदोहोरका लागि बनाइएको तीनवटा ढोका युरोपेली बजारका लागि निर्मित स्विच आई1 को विशिष्ट विशेषताहरू हुन्। भारतीय विद्युतीय बसको बजार सन् 2030 सम्म 21% कम्पाउण्डेड एनुअल ग्रोथ रेट (सीएजीआर) दरले वृद्धि हुने अनुमान गरिएको छ। यस्तो स्थितिमा पर्यावरण मैत्री सार्वजनिक यातायाततर्फको दौड़मा स्विच मोबिलिटी यस बजारको अग्रणी बन्ने तयारीमा छ।
गान्तोकका लागि स्विच ईआईभी12 ले विशेष सम्भावना राख्दछ। शहरको बढ्दो पर्यावरणीय समस्या अनि शहरी भीड़भाड़ समाधान गर्न खोजिरहेको अवस्थामा विद्युतीय बसको प्रयोगले वायुको गुणस्तरमा सुधार र शहरको आवागमनलाई थप व्यवस्थित बनाएर स्वच्छता अनि प्रभावकारी सार्वजनिक यातायातको समाधान प्रदान गर्न सक्छ।