विश्वचर्चित वातावरण अभियन्ता ग्रेटा थनवर्गले भारतमा जारी किसान आन्दोलनको पक्षमा आफ्नो समर्थन दोहोर्याएकी छन् ।
किसान आन्दोलनको पक्षमा ट्वीट गरेको भन्दै आफूविरुद्ध एफआईआर दायर भएको चर्चा चुलिएकै बेला ग्रेटाले आफू किसानको पक्षमा रहेको बताएकी हुन् । १७ वर्षीया स्विडेनकी किशोरी ग्रेटा जलवायु परिवर्तनविरुद्ध अभियन्ताका रूपमा विश्वभर परिचित छिन् ।
‘म अझै पनि किसानहरूको साथमा छु र उनीहरूको शान्तिपूर्ण आन्दोलनको समर्थन गर्छु । जस्तोसुकै घृणा, धम्की र मानव अधिकारको उल्लंघनले पनि त्यसमा परिवर्तन आउने छैन,’ ग्रेटाले ट्वीट गरेकी छन् ।
किसान आन्दोलनको समर्थन गर्दै ट्वीटमार्फत हिंसा भड्काउन खोजको आरोपमा दिल्ली प्रहरीको साइबर सेलले ग्रेटाविरुद्ध बिहीबार एफआईआर दायर गरेको चर्चा चुलिएको हो । तर दिल्ली प्रहरीले एफआईआरमा थनवर्गको नाम नभएको र उनले ट्वीट गरेको ‘टुल किट’ बनाउनेविरुद्ध मात्र मुद्दा दायर गरिएको प्रस्टीकरण दिएको छ ।
पप स्टार रिहानाले बुधबार किसान आन्दोलनको पक्षमा ट्वीट गरेकी थिइन् । भारत सरकारले गत सेप्टेम्बरमा ल्याएको तीनवटा कृषि कानुन विरोधमा विगत पाँच महिनादेखि विशेषगरी पन्जाब, हरियाणा, उत्तरप्रदेश, राजस्थान, महाराष्ट्र, पश्चिम बंगालराज्यका किसान आन्दोलनरत छन् । आन्दोलनलाई भारतभरका ४० भन्दा बढी किसान संगठनहरूको समर्थन रहेको छ । किसानहरूले २ महिनायता दिल्लीका नाकाहरू गाजीपुर, सिंघु, टिक्रीलगायतमा धर्ना दिइरहेका छन् ।
विपक्षी दललेसमेत आन्दोलनको समर्थन गर्दै आएका छन् । सरकारले भने नयाँ कानुनले किसानहरूको आम्दानी बढाउने र समग्र कृषि क्षेत्रमा व्यापक सुधार हुने दाबी गरिरहेको छ । यसबीच आन्दोलरत किसान संगठनहरू र सरकारबीच ११ पटकसम्म वार्तासमेत भइसकेको छ । तर, कुनै निकास निस्किएको छैन । किसान पक्षले कानुन फिर्ता गर्नुपर्ने माग राखेको छ भने सरकारले भने त्यसमा संशोधन गर्ने तर फिर्ता नलिने अडान लिएको छ । किसानहरूले कृषि कानुन फिर्ता नभएसम्म नाकाको धर्ना जारी राख्ने अडानमा छन् ।