बाइडेन आएसँगै बेरीको दौडधुप

अमेरिकामा राष्ट्रपति फेरिएसँगै काठमाडौंमा राजदूत बेरीले भेटवार्ता बढाएर मुख्य गरी इन्डो–प्यासिफिक स्ट्राटेजी, एमसीसी, तिब्बत मामिला र द्वन्द्वकालीन घटनालाई बढी चासो दिन खोजेको देखिन्छ ।अमेरिकामा नयाँ प्रशासन आएपछि नेपालले एमसीसी परियोजनामा प्रयास गर्नुपर्छ । नेपालले संसद् छैन भनेर अनुरोध गर्न सक्छ । परियोजना निर्माणलाई नेपाल सरकारले बजेटमा राखिसकेकाले अर्कै किसिमले अनुरोध पनि गर्न पाइयो ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा भेटे । माघ १२ गते सोमबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास, नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटार र कांग्रेस सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ पुगेर भेटवार्ता गरे ।

त्यसअघि माघ ८ गते बेलुकी राजदूत बेरी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनका पछिल्ला लगातार भेटवार्ताको मुख्य उद्देश्य हो– नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनबारे जानकारी गराउनु ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चारवर्षे कार्यकाल अमेरिकी जनताकै लागि उकुसमुकुस रह्यो । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले माघ ७ गते शपथ लिएसँगै अमेरिकाको भित्री र बाहिरी नीतिमा चलायमान देखिन थाल्यो । क्यापिटल हिलको शपथग्रहण कार्यक्रममै बाइडेनले भने, ‘अमेरिकाले बाह्य मित्रहरूसँगको सम्बन्धलाई रिपियर (मर्मत) गर्नेछ ।’ वासिङ्टनमा बाइडेनले उक्त अभिव्यक्ति दिएको भोलिपल्टै काठमाडौंमा त्यसको असर देखिन थाल्यो ।

राजदूत बेरीले काठमाडौंमा लगातार गरेका पछिल्ला भेटवार्तामा राष्ट्रपति बाइडेनले कोभिड–१९ जस्ता साझा चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गरेको, विश्व स्वास्थ्य संगठनमा अमेरिकाको सदस्यता निरन्तरता दिने र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध पुनःस्थापना तथा नेपाललगायत विश्वभरका प्रजातन्त्रिक मुलुकहरूसँगको साझेदारीलाई पुनर्जीवन दिने बताएको विषयमा जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *