सहकार्यका लागि दाहाललाई ओलीको शर्त : ‘नेपालसँग सहकार्य तोड्नुस्’

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहकार्य तोडेर दुई अध्यक्षबीच सहकार्यको प्रस्ताव गरेका छन् । तर, कार्यकारी अध्यक्ष दाहालले समीकरण बनाउने र भत्काउनेभन्दा सबै समस्याको समाधान जारी स्थायी कमिटी बैठकबाट खोज्नुपर्ने अडान राखेका छन् ।

दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफलका लागि स्थायी कमिटी बैठक एक साता स्थगित भएकै बेला नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बुधबार भेटवार्ता भएको थियो । यही भेटमा ओलीले नेपालसँगको सहकार्य तोड्न दाहालसँग आग्रह गरेका हुन् । नेकपा विवाद झन्डै बहुमत–अल्पमतमा प्रवेश गरिसकेको अवस्थामा ओलीले दाहाल–नेपाल समीकरण भत्काउने प्रयासस्वरुप सहकार्यको प्रस्ताव अगाडि सारेको नेकपाका नेताहरुले विश्लेषण गरेका छन् ।

नेकपा सचिवालयका एक सदस्यले बताएअनुसार भेटमा ओलीले नेपालसँग आफूले लामो समय संगत गरेको र उनको बेलाबेलामा धोकाको राजनीति गरेको भन्दै आफूसँग सहकार्यका लागि दाहालसँग प्रस्ताव गरेका थिए । तर, जवाफमा दाहालले आफूले नेपालसँग लामो समयदेखि सहकार्य गरेको र धोकाको सम्भावना नरहेको जवाफ फर्काएका थिए । यसअघि ओलीले नेपालसँगको भेटमा पटक–पटक सहकार्यको प्रस्ताव गरेका थिए । तर, नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै आएका छन् । ओलीनिकट नेताहरुले दाहाल नेपालसहितको घेराबन्दीमा परेको भन्दै स्वतन्त्र भएर निर्णय लिनुपर्ने बताउँदै आएका छन् ।

बुधबारको भेटमा पनि ओलीले दाहालले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन प्रस्ताव राखेका थिए । तर, दाहालले पार्टी कमिटीमा छलफलमा गइसकेको प्रस्तावको टुंगो त्यहीँबाट लाग्ने बताएको उनी निकट नेताले बताए । दाहालले छलफलमा गएका प्रस्ताव स्थायी कमिटीबाट टुंगिने बताएको ती नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *