महिला हिंसाका घटना नेपालमा मात्रै होइन संसारमै बढे : महिलामन्त्री श्रेष्ठ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका बेला सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले महिलाविरुद्धका घटना नेपालमा मात्रै बढेको नभएर संसारभर बढेको बताएका छन् । यसरी बढेका घटनामा कसरी न्यूनीकरण ल्याउन सकिन्छ भनेर सबैले लाग्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले महिलामाथि हुने लैंगिक हिंसा र बलात्कारलगायत यौनजन्य हिंसा न्यूनिकरणमा दक्षिण एसियामा नेपालमा राम्रो काम भइरहेको पनि दाबी गरेका छन् ।

संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा बिहीबार भएको ‘लैंगिक हिंसा विरुद्धको अभियानमा तीनै तहका जनप्रतिनिधिहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले भने, ‘लैंगिक हिंसा न्यूनिकरणमा नेपालमा दक्षिण एसियामा यो सवालमा राम्रो काम भइरहेको छ । त्यसो भए तापनि जुन यो कोभिड-१९ को बीचमा घटनाहरू घटे । विश्वमै घटनाहरू बढेको छ । अस्ति मैले तथ्यांक हेरे । नेपालमा मात्रै होइन संसारमै घटनाहरू बढे ।’

नेपालमा दैनिक ७ जना बालिका तथा महिला बलात्कृत भएका उजुरी परेको नेपाल प्रहरीको तथ्यांक छ । यौन हिंसाका धेरै घटना भने प्रहरी प्रशासनकोमा उजुरीका रूपमा दर्ता हुन नपुग्ने गरेको सरकारी अधिकारीहरूले नै बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *