प्रधानमन्त्री ओलीले भने- ‘नेपालको भूभाग चीनविरुद्ध प्रयोग हुन दिन्‍नौं’

प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपालका भूभाग चीनका विरुद्धमा प्रयोग हुन नदिने बताएका छन् । चिनियाँ स्टेट काउन्सिलर तथा रक्षा मन्त्री वेई फेङहेसँग आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्दै नेपाल एक चीन नीतिमा कटिबद्ध रहँदै आएको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–चीन बीचका कुनै पनि समस्या नरहेको र घनिष्ठ मित्र रहेको बताएका थिए । ‘हाम्रो बीचमा समस्यारहित सम्बन्ध छ,’ ओलीलाई उदृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भने । ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहँदै आएको पनि चिनियाँ रक्षामन्त्री वेईलाई प्रस्ट पारे । ओलीले पछिल्लो समय चीन र नेपाल बीचको सम्बन्ध थप उचाई लिएको पनि बताए । ओलीले आफ्नो सन् २०१६ र २०१८ को चीन भ्रमण र त्यस बेला भएका यातायात तथा पारवहन सम्झौताहरु ऐतिहासिक रहेको उल्लेख गरेका थिए ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो चीन भ्रमण र गत वर्षको अक्टोबरमा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले पनि दुई मुलुक बीचमा विभिन्न सहमति भएको जनाए ।

भट्टराईका अनुसार ओलीले खासगरी कनेक्टिभिटीका सवालमा भएका सहमतिहरु कार्यान्वयन लाने बाटो नेपाल रहेको बताएका थिए । ओलीले नेपालको आर्थिक विकासमा चीनले सहयोग गरिरहेको छ र नेपालका लागि चीनको सहयोग अपरिहार्य पनि रहेको बताएका थिए । ओलीले खासगरी कोभिड–१९ नियन्त्रण सफलतापूर्वक सम्पन्न गरेको र नेपाललाई चीनले गरेको सहयोगको लागि पनि धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *