वैकल्पिक यात्राको सकस

नेपाली समाज आज फेरि यथास्थितिवादको कहरबाट छटपटाउन थालेको छ । त्यसैले आजको नकारात्मक यथास्थितिको गुणात्मक विकल्प निर्माणका निम्ति आवश्यक जरुरी बहस पनि सुरु भैसकेको छ । सृष्टिको प्रत्येक पदार्थीय एकाइले आफ्नो अनुकूलताको परिस्थिति निर्माण गर्न संघर्ष गर्छ ।

यही स्वभाव नै परिवर्तन र अस्तित्वका निम्ति निर्णायक रहँदै आएको छ । पदार्थीय एकाइहरूमध्ये प्रचलनमा जीवित भनिएका जीव वा वनस्पतिले गर्ने त्यस्ता संघर्षलाई भने सहजै देख्न पनि सकिन्छ । एउटा भर्खरको बिरुवाले जताबाट घाम प्राप्त गर्छ, त्यो घाम लगातार छेकिदिने हो भने बिरुवा घाम आउने अर्को दिशातिर ढल्किन थाल्छ । अर्थात्, यथास्थितिको विकल्प खोज्न सुरुआत गर्छ । कमिलाले गोलो भत्केकै विन्दुबाट अर्को गोलो निर्माणको मेलो थाल्छ । यसरी प्रतिकूलताको विकल्प निर्माणको आयाम सर्वत्र व्याप्त छ । विकल्प खोज र निर्माणको यात्रामा मानवजाति सबैभन्दा अगाडि बढ्यो । त्यसैले त मानव पदार्थको सबैभन्दा जटिलतम तर उच्च रूपमा प्रकट एवं स्थापित हुन पुग्यो ।

सृष्टिका पदार्थका अन्य रूप मात्र हैन, जीवित भनिएका जीव र वनस्पतिको भन्दा मानवको विकल्प खोज्ने प्रवृत्तिको सार भने फरक हुन पुग्यो । त्यो गुणात्मक फरक प्रवृत्ति यही नै हो कि, अन्य जीवितहरू प्रतिकूल परिस्थितिको मात्रात्मक र तत्कालीन विकल्पको खोजसम्म नै सीमित हुन्छन् भने मानिस गुणात्मक र दीर्घकालीन विकल्पको खोजसम्म पुग्न सधैंभरि तत्पर रहन्छ । विकल्प–खोजको यही गुणात्मक प्रवृत्ति–भिन्नताकै दौरान सबैजसो जनावरले नदीमा पौडिन जाने तर मानिसले चाहिँ नदीमाथि पुल नै उभ्याउन पुग्यो जनावरहरू संस्कृतिविहीन रहन पुगे तर मानिस संस्कृतियुक्त हुन पुग्यो । आज यस विषयलाई संश्लेषित रूपमा व्यक्त गर्न जति सजिलो छ, मानव समाजले आफूलाई गुणात्मक विकल्प–खोजमा होम्न भने त्यति सजिलो थिएन भन्ने यथार्थ प्रस्टै छ । मानव समाजमा उपलब्ध दर्शन, खाद्यशास्त्र, औषधि विज्ञानदेखि राजनीति लगायतका तमाम उपलब्धि प्राप्त गर्न मानिसका पूर्वजहरूले गरेको असाधारण तपस्या र भोगेका अकल्पनीय कष्टहरूको कल्पना मात्र पनि कुनै एक व्यक्तिको मस्तिष्कबाट सम्भव नहुने स्तरमा छ । यसरी मानिसले प्रतिकूल परिस्थितिको गुणात्मक विकल्प तब नै निर्माण सम्भव बनाउँदै आएको हो, जब तत्कालीन सामाजिक चेतना अकल्पनीय कष्टलाई बेहोर्न राजी हुने स्तरमा विकसित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *