बाकु — अर्मेनियाले गरेको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको अजरबैजानले जानकारी दिएको छ । शनिबार अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जालाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकासहित १२ जना सर्वसाधारणको मृत्यु भएको अजरबैजानले जनाएको छ ।
आक्रमणमा परी ४० जनाभन्दा बढी घाइते भएको अजरबैजानका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । अर्मेनियाले सहरमा रहेको अपार्टमेन्टमा आक्रमण गरेको समाचारमा उल्लेख छ । अर्मेनियाका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
अजरबैजानका राष्ट्रपतिका सहयोगी हिक्मत हाजियभले ट्वीट गर्दै अहिले आक्रमणबाट ध्वस्त भएका भवनका भग्नावशेषहरुबाट मानिसहरुको उद्धार भइरहेको बताएका छन् । साथै उनले अर्मेनियाले भएको ‘राज्य आतंकको नीति’ बन्द गर्नुपर्ने बताएका छन् ।
प्रारम्भिक जानकारीअनुसार अर्मेनियाको आक्रमणबाट गान्जामा २० भन्दा बढी घरहरु ध्वस्त भएका छन् ।
यसैबीच टर्कीले अर्मेनियाली आक्रमणको निन्दा गरेको छ । टर्कीको सत्तारुढ दलले अर्मेनियालाई ‘दुष्ट राज्य’ को संज्ञा दिँदै गान्जामा भएको आक्रमण मानवताविरोधी अपराध भएको बताएको छ । टर्कीका राष्ट्रपतिका प्रवक्ता आमेर सेलिकले युद्धविराम घोषणा भए पनि अर्मेनियाले युद्धअपराधलाई निरन्तरता दिनु दु:खद भएको बताएका छन् ।
अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाख सीमा क्षेत्रलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । तर पछिल्लो समय सेप्टेम्बर २७ यता अर्मेनियाले अजरबैजानी सुरक्षा फौज र सर्वसाधारणप्रति लक्षित आक्रमण गरिरहेको छ ।
केही दिनअघि रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभको मध्यस्थतामा मस्कोमा अजरबैजान र अर्मेनियाबीच युद्धविराम गर्ने सहमति भएको थियो । तर अर्मेनियाले उक्त सहमति उल्लंघन गर्दै एकपक्षीय रुपमा अजरबैजानमाथि आक्रमण गर्दै आएको छ ।