जालपाइगढ़ी जिल्लाको मैनागुड़ीमा बुधवार राति एउटा भयावह सड़क दुर्घटना भएको छ। इन्दिरा मोड़ नजिकैको क्षेत्रमा एकैसाथ तीनवटा वाहनहरू आपस्तमा ठोक्किँदा कम्तीमा छजना घाइते भएका छन्। दुर्घटनामा सड़कको ट्राफिक पोइण्टलाई पनि व्यापक क्षति पुगेको छ।
प्राप्त जानकारीअनुसार, बुधवार राति एउटा ट्रक धूपगुड़ीदेखि जालपाइगढ़ीतर्फ जाँदै थियो। अर्को दिशाबाट एउटा यात्री वाहक सानो चारचक्के वाहन आउँदै थियो। इन्दिरा मोड़ नजिकैको क्षेत्रमा अर्को एउटा यात्री वाहक सानो वाहन पनि आइरहेको थियो। जालपाइगढ़ीदेखि आएको सानो गाड़ी अचानक च्याङ्ग्राबन्धा जाने बाटोतर्फ मोड़िँदा ट्रकसित ठोक्कियो। त्यसपछि उक्त सानो गाड़ीले अर्को सानो गाड़ीलाई जोरले ठक्कर दिँदै सिधै ट्राफिक पोइण्टमा गएर ठोक्कियो।
स्थानीय वासिन्दाहरूले पुलिसलाई खबर दिए। खबर पाएपछि मैनागुड़ी थाना पुलिस तत्काल घटनास्थलमा आपुगेको थियो। घाइतेहरूलाई उद्धार गरी पहिले मैनागुड़ी ग्रामीण अस्पताल लगियो। पछि अस्पताल प्रशासनले तिनीहरूको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सबैलाई जालपाइगढ़ी अस्पताल रेफर गरिदियो। दुर्घटनामा संलग्न तीनवटै वानहहरूलाई नियन्त्रणमा लिइएको पुलिसले जनाएको छ। तर ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेका छन्। तिनको खोजीमा अनुसन्धान आरम्भ गरिएको छ। सम्पूर्ण घटनाको छानबिन भइरहेको छ।
मैनागुड़ी ट्राफिक पोइण्ट दुर्घटनामा 6 घाइते
