थाइल्यान्डमा रोकियो एस्ट्राजेनेका-अक्सफोर्डको कोरोना खोप अभियान

थाइल्यान्डले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा बनाएको कोरोना खोपको प्रयोगमा अस्थायी रुपमा रोक लगाएको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा तथा केन्द्रीय मन्त्रीहरुले शुक्रबार खोप लगाएर मुलुकभर कोरोना खोप अभियान सुरु गर्ने योजना थियो ।

तर एस्ट्राजेनेका–अक्सफोर्ड कोरोना खोप लगाएका व्यक्तिको शरीरमा रगत जम्ने(ब्लड क्लटिङ) को समस्या देखिएको केही रिपोर्ट सार्वजनिक भएका कारण उक्त अभियान हाललाई रोकिएको बताइएको छ ।

थाई स्वास्थ्य मन्त्रालयद्वारा जारी पत्रकार सम्मेलनमा सिरिराज अस्पतालका चिकित्सा संकायका डिन प्रसित वातानापाले खोप अभियान अहिलेलाई रोकिएको जानकारी दिएका हुन् । डेनमार्क, नर्वे, आइसल्यान्डलगायतका केही युरोपेली मुलुकले यस खोपको प्रयोगमा अस्थायी रुपमा रोक लगाएका छन् । करिब ५० लाख युरोपेली नागरिकले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप लगाइसकेका छन् । खोप लगाएकामध्ये ३० जनाको शरीरमा रगत जम्ने समस्या देखिएको बताइएको छ ।

बिहीबार युरोपियन मेडिसिन्स एजेन्सी(ईएमए) ले कोरोना खोपकै कारण ती व्यक्तिको शरीरको रगत जमेको यकिन नभए पनि खोपको जोखिम कम गर्नका लागि यसलाई केही समय रोक्दा राम्रो हुने बताएको थियो ।

थाई स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अक्सफोर्ड–एस्ट्राजेनेका खोप लगाएका एसियाली मुलुकका व्यक्तिमा समस्या नदिएको बताएका छन् । थाइल्यान्डको कोभिड–१० खोप अभियान समितिका सल्लाहकार पियासकोल सकोल्सटायडर्नले भने, ‘एस्ट्राजेनेकाको गुणस्तर राम्रो छ । तर केही देशले अहिले यसको प्रयोगमा रोक लगाएकाले हामीले पनि रोकेका हौँ ।’

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *