राहुल गान्धी काठमाडौंको नाइटक्लब पुग्दा भारतमा हलचल!

भारतीय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंको एक रात्रीक्लबमा पुगेको भिडियो सार्वजनिक भएपछि भारतीय राजनीतिमा तरङ्ग उठेको छ। काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्समा (एलओडी) एक महिलासँग राहुल गान्धी रमाउँदै गरेको भिडियो सार्वजनिक भएको छ। यसपछि भारतीय मीडियाले उनलाई चर्चाको विषय बनाएका छन्।  

देशभित्रै आन्तरिक संकटका माझ समस्याको सुल्झन खोज्नुको साटो विदेशमा रमाइरहेका गान्धीलाई भारतीय जनता पार्टीले (भाजपा) आलोचना गरिरहेको छ।

भाजपाका आईटी प्रमुख अमित मालवियाले गान्धीको नाइटकल्बको भीडियो ट्विटरमार्फत सार्वजनिक गरेका हुन्। उनले सोही ट्वीटमार्फत व्यंगात्मक शैलीमा ‘काङ्ग्रेस पार्टी सकिसक्दा पनि गान्धीको पार्टी चलिरहेको’ कुरा जोडेका छन्।

भाजपा र काङ्ग्रेसबीचको  मन-मुटाव कुनै नयाँ विषय होइन। युरोप भ्रमणमा रहेका प्रधानमन्री नरेन्द्र मोदी हाल डेनमार्कमा छन्। यही विषयमा मोदीको विरोध गर्दै काङ्ग्रेसले पनि केही समय अघि मात्र ट्वीट गरेको थियो। उक्त ट्विटमा लेखिएको थियो, ‘देशभित्र संकट छ, तर साहेबलाई (मोदी) विदेशमा रमाउँदै ठिक्क।’

उनका विरुद्ध आइरहेका आलोचनात्मक टिप्पणीको प्रतिरोध गर्दै काङ्ग्रेसका प्रवक्ता रणदीप सुर्जेवाला उनी नेपालमा मोदीजस्तो ‘ननिम्त्याइएको पाहुना’ नभएको बताए। पत्रकार सम्मेलनमार्फत सुर्जेवालाले भने, ‘विवाहको निम्तो मान्न गान्धी मित्रराष्ट्र गएका हुन्। यस्तै हो भने मोदी र भाजपाको सरकारले बिहेमा जानु पनि गैरकानूनी घोषणा गर्न बेर छैन।’

म्यानमारका लागि पूर्व-नेपाली राजदूत भीम उदासकी छोरीको बिहेमा सहभागी हुन गान्धी सोमबार साँझ नेपाल आएका हुन्।

By News Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *