आर्थिक रूपमा पछाड़ि परेका परिवारका बालक-बालिकालाई पढ़ाई जारी राख्न सहयोग पुर्यादउने उद्देश्यले जलपाइगढ़ीमा 87 हजारभन्दा बढ़ी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। राज्य सरकारको आदिवासी तथा पछाड़िएको वर्ग कल्याण विभागबाट तिनीहरूले ओएसीस, शिक्षाश्री र मेधाश्री छात्रवृत्ति पाइरहेका छन्। साथै पछाड़ि परेका समुदायका विद्यार्थीहरूले निःशुल्क छात्रावासमा बसेर पढ़ाई गर्न सकून् भन्ने उद्देश्यमा राज्य सरकारले त्यसको पनि व्यवस्था गरेको छ।
जलपाइगढ़ी जिल्लामा हाल यस्ता 18 वटा छात्रावास सञ्चालनमा छन्। चाँड़ै नै थप एउटा छात्रावास सञ्चालनमा आउने तयारी भइरहेको छ। छात्रावासमा बस्ने विद्यार्थीहरूको खानपानका लागि राज्य सरकारले प्रत्येक महीना 1800 रुपियाँ उपलब्ध गराइरहेको छ। यसबारे राज्यका आदिवासी तथा पछाड़िएको वर्ग कल्याण मन्त्री बुलुचिक बराइकले भने, पछाड़ि परेका समुदायका छोराछोरीले पढ़ेर समाजमा स्थापित हुन सकून् भन्ने लक्ष्यमा राज्य सरकार निरन्तर प्रयासरत छ। हजारौँ विद्यार्थीहरूले छात्रवृत्ति पाइरहेका छन्। धेरै विद्यार्थी छात्रावासमा बसेर पढ़िरहेका छन् र तिनीहरूको बसोवास तथा खानपानको सम्पूर्ण खर्च राज्य सरकारले नै वहन गरिरहेको छ। पछाड़िएको वर्ग कल्याण विभाग, जलपाइगढ़ी जिल्लाका परियोजना अधिकारी प्रवीण लामाले भने, विद्यार्थीहरूको आवेदनका आधारमा शीघ्र जाँच गरेर तिनीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्न हामी सधैँ प्रयासरत रहन्छौँ।
अनुसूचित जाति र अनुसूचित जनजाति समुदायका पाँचौँदेखि आठौँ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूका लागि शिक्षाश्री छात्रवृत्ति उपलब्ध छ। पारिवारिक वार्षिक आय दुई लाख पचास हजार रुपियाँभन्दा कम्ती भए यी दुई समुदायका विद्यार्थीहरूले यस छात्रवृत्तिका लागि आवेदन दिन सक्छन्। यसअन्तर्गत वर्षमा 800 रुपियाँ प्राप्त हुन्छ। पछाड़िएको वर्ग कल्याण विभागका सूत्रअनुसार, चालु वर्ष जलपाइगढ़ी जिल्लामा अनुसूचित जाति समुदायका 42 हजार 312 विद्यार्थी र अनुसूचित जनजाति समुदायका 8 हजार 592 विद्यार्थीहरूले शिक्षाश्री छात्रवृत्ति पाइरहेका छन्। ओबीसी समुदायका पाँचौँदेखि आठौँ कक्षासम्म विद्यार्थीहरूका लागि मेधाश्री छात्रवृत्ति उपलब्ध छ। यसअन्तर्गत पनि वर्षमा 800 रुपियाँ प्रदान गरिन्छ। चालु वर्ष जलपाइगढ़ी जिल्लामा 4 हजार 638 विद्यार्थीले मेधाश्री छात्रवृत्ति पाइरहेका छन्।
यसका अतिरिक्त अनुसूचित जाति, अनुसूचित जनजाति र ओबीसी समुदायका विद्यार्थीहरूका लागि अनलाइन एप्लिकेशन फर स्कलरशिप इन स्टडिज अर्थात् ओएसीस पनि उपलब्ध छ। यसअन्तर्गत पारिवारिक वार्षिक आय दुई लाख पचास हजार रुपियाँभन्दा कम्ती भएमाविद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्छन्। चालु वर्ष जलपाइगढ़ी जिल्लामा एघाह्रौँ कक्षादेखि माथिल्लो तहमा अध्ययनरत अनुसूचित जाति समुदायका 16 हजार 358, अनुसूचित जनजाति समुदायका 2 हजार 61 र ओबीसी समुदायका 839 विद्यार्थीले ओएसीस छात्रवृत्ति पाइरहेका छन्। साथै नवौँ र दशौँ कक्षामा अध्ययनरत ओएसीस छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको सङ्यासा जलपाइगढ़ी जिल्लामा अनुसूचित जाति समुदायका 11 हजार 361, अनुसूचित जनजाति समुदायका 912 र ओबीसी समुदायका 502 जना छन्।
मन्त्री बुलुचिक बराइकले भने, छात्रवृत्ति मात्र होइन पछाड़ि परेका समुदायका विद्यार्थीहरूले उच्च शिक्षा पूरा गरेपछि सरकारी रोजगारका परीक्षाका लागि तयारी गर्न सकून् भन्ने उद्देश्यमा राज्य सरकारले निःशुल्क योग्यश्री कोचिङको व्यवस्था पनि गरेको छ। जलपाइगढ़ी, धूपगुड़ी, मालबजार लगायत विभिन्न क्षेत्रमा उक्त कोचिङ केन्द्र सञ्चालनमा छन्।
87 हजारभन्दा बढ़ी विद्यार्थीलाई विभिन्न छात्रवृत्ति
