अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट शुक्रबार प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्यको लखन उमहानगरका ३४ वर्षीय अतुलकुमार र ३५ वर्षीय सन्दीपसिंह राय छन् ।उनीहरूको साथबाट भारतीय नोट पाँच सयको दुई सय थान, र सन्दीपसिंह रोयको साथबाट पाँच सयको भारतीय नोट दुई सय १७ थान, अमेरिकन नोट एक सयको २१ थान, २० को पाँच थान, १० को एक थान र एकको चार थान बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवैध कारोबार गर्नेहरूले यसरी हुन्डीमार्फत रकम ओसारपसार गर्ने गर्दछन् ।