चुनाउअघि पुलिस अधिकारीहरूलाई सरुवाको आदेश

बूथ सङ्ख्या बढ्ने सम्भावना प्रबल रहेको छ। त्यसैले बिहीवार बिहारदेखि सिलगढ़ीमा थप 4780 वटा ईभीएम ल्याइएको छ। ती ईभीएमहरू मागअनुसार विभिन्न जिल्लाहरूमा पठाइएको छ। अर्कातिर चुनाउ आयोगले चुनाउका लागि सिलगढ़ीसहित दार्जीलिङ जिल्ला पुलिस अधिकारी तथा प्रशासनका अधिकारीहरूको डाटाबेस सङ्कलन गरिरहेको छ। प्रशासन सूत्रअनुसार चुनाउमा पारदर्शिता कायम राख्न आयोगले यस्तो कदम चालेको हो। यसैबीच सिलगढ़ी पुलिस कमिश्नरेटका ओसी पदका 36 जनालाई सरुवाको आदेश जारी गरिएको छ।
दार्जीलिङ जिल्लामा विधानसभा क्षेत्रको सङ्ख्या पाँचवटा छ। प्रशासन सूत्रअनुसार यसपल्ट प्रत्येक 1200 मतदाताका लागि एउटा बूथ बनाइने सम्भावना छ। यसो भए विधानसभा क्षेत्रहरूमा बूथ सङ्ख्या बढ्नेछ। त्यसका लागि नै आयोगले जिल्ला जिल्लामा थप ईभीएम पठाइरहेको छ। बिहीवार बिहारदेखि सिलगढ़ीको क्षेत्रीय गोदाममा 4780 वटा ईभीएम ल्याइएको छ। तीमध्ये सिलगढ़ीका लागि 2350 वटा ईभीएम आएको छ। यसमा 850 वटा ब्यालट युनिट (बीयू) तथा 750-750 वटा कण्ट्रोल युनिट (सीयू) र भोटर भेरिफाइड पेपर अडिट ट्रेल (भीभीप्याट) समावेश छन्। यसबाहेक जलपाइगढ़ी जिल्लाका लागि 750-750 वटा सीयू र भीभीप्याट, अलिपुरद्वारका लागि 570 वटा भीभीप्याट, उत्तर दिनाजपुरका लागि 100 वटा बीयू र दक्षिण दिनाजपुरका लागि 260 वटा भीभीप्याट ल्याइएको छ। सिलगढ़ीको सुभाषपल्लीस्थित गोदामबाट सम्बन्धित ईभीएमहरू ती जिल्लाहरूमा पठाइएको छ।
प्रशासनका एक अधिकारीले जानकारी दिएअनुसार 27 नोभेम्बरदेखि 3 दिसम्बरसम्म ईभीएमको फर्ष्ट लेभल चेकिङ गरिएको थियो। त्यो बेला गोदाममा 7126 वटा ईभीएम उपलब्ध थियो जसमा 545 वटामा त्रुटि फेला परेको थियो। ती मरम्मतीका लागि हैदराबाद पठाइएको छ। यसपल्ट आयोगले सिलगढ़ीका लागि थप 2350 वटा ईभीएम पठाएको छ।
अर्कातिर जिल्ला अधिकारी, अतिरिक्त जिल्ला अधिकारी, महकुमा अधिकारीदेखि लिएर बीडीओसम्म प्रशासनका अधिकारीहरूको सम्पूर्ण विवरण चुनाउ आयोगले सङ्कलन गरिरहेको छ। प्रशासन सूत्रअनुसार ती अधिकारीहरूको नाम, ठेगाना, पोष्टिङ इतिहास, अघिल्लो विधानसभा चुनाउमा यहाँ कार्यरत थिए वा थिएनन्, यस जिल्लामा कति वर्षदेखि कार्यरत छन् लगायतका विवरण सङ्कलन भइरहेको छ। त्यसै तरिकाले दार्जीलिङ जिल्ला पुलिस र सिलगढ़ी पुलिस कमिश्नरेटका अधिकारीहरूको पनि विवरण सङ्कलन गरिएको छ। जिल्ला प्रशासनका एक अधिकारीले भने, यस जिल्लामा अघिल्लो विधानसभा चुनाउमा काम गर्ने कुनै पनि अधिकारी अहिले छैन। तर पनि आयोगले सबै अधिकारीहरूको विवरण सङ्कलन गरिरहेको छ। दार्जीलिङ जिल्ला पुलिस र सिलगढ़ी मेट्रोपोलिटन पुलिस कमिश्नरेटका एक अधिकारीले भने, अधिकारीहरूको विवरण आयोगमा पठाइएको छ र केही अधिकारीहरूको सरुवा पनि गरिएको छ।

By Paromita