सिलगढ़ीदेखि तीनधारिया जाँदै गर्दा सुकनानजिक टोय ट्रेनको एउटा इञ्जिन पल्टिएको छ। शुक्रवार दिउँसो 1 बजी इञ्जिन स्किड भएर रेल लीकबाट पल्टिएको हो। घटनामा चालक र सहचालक सामान्य रूपले घाइते भएका छन्। खबर पाएपछि रेल विभागका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। रेल विभागले इञ्जिन उठाउने काम आरम्भ गरिसकेको छ। यद्यपि एनजेपीबाट दार्जीलिङतर्फ जाने टोय ट्रेन भने सामान्य रूपमा पहाड़तर्फ प्रस्थान गरेको जनाइएको छ।
यसअघि पनि धेरैपल्ट टोय ट्रेन लीकबाट पल्टिएको घटनाहरू भइसकेका छन्। गत वर्ष 1 जनवरीमा दार्जीलिङको काकझोड़ामा टोय ट्रेनको एउटा इञ्जिन रेल लीकबाट बाहिरिएको थियो। त्यस घटनाले यात्रीहरूमा त्रास सिर्जना गरेको थियो। यद्यपि त्यति बेला कसैलाई चोटपटक लागेको थिएन। दार्जीलिङको नोस्टाल्जियासित गहिरो रूपले जोड़िएको टोय ट्रेन विगतमा पनि पटक–पटक दुर्घटनामा परिसकेको छ। यसरी पटक–पटक लीकबाट पल्टिदा यात्रीहरूको मनमा केही डर उत्पन्न भएको छ।
सुकनामा टोय ट्रेनको इञ्जिन पल्टियो
