बङ्गाली भाषा सिक्ने सुझाउ

शीतलकुची जस्तो विच्छिन्न घटना दोहोरिन दिन मिल्दैन। सानो विवाद भए पनि तुरुन्तै पुलिस र केन्द्रीय बलले नियन्त्रण गर्नुपर्छ। त्यसका लागि सबैभन्दा आवश्यक स्थानीय मानिसहरूसित संवाद हुन्छ। त्यसैले केन्द्रीय बलका गैर-बङ्गाली जवानदेखि अधिकारीसम्म सबैलाई काम चलाउन सकिने स्तरको बङ्गाली भाषा सिक्ने सल्लाह दिइएको छ। जिल्ला प्रशासन सूत्रले यस्तै जानकारी दिएको छ। आगामी 23 अप्रेल पहिलो चरणमा सम्पूर्ण उत्तर बङ्गालमा मतदान हुनेछ। आयोगको निर्देशनअनुसार केन्द्रीय बल पहिले नै तैनाथ गरिएको छ। कोचबिहारमा पनि नियमित रूपमा रूट मार्च भइरहेको छ। तर शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सुनिश्चित गर्न सुरक्षा मात्र होइन साधारण मतदातासित सहज र सरल सम्पर्क स्थापना गर्न पनि जिल्ला प्रशासनले जोड़ दिएको छ। सूत्रअनुसार यस उद्देश्यका लागि केन्द्रीय बलका जवानहरूले कम्तीमा बङ्गाली भाषा बुझ्न सकून् भन्ने विषयमा विशेष ध्यान दिइएको छ। केवल गस्ती मात्र होइन रूट मार्चका क्रममा नागरिकहरूसित कुराकानी गर्न पनि सल्लाह दिइएको छ। धेरै अवस्थामा भाषागत समस्याका कारण स्थानीय वासिन्दा र बलका सदस्यहरूबीच भुल बुझाबुझ वा असुविधा उत्पन्न हुनसक्न प्रशासनको तर्क छ। ती समस्या कसरी समाधान गर्ने भन्ने विषयमा ध्यान दिइएको छ।
प्रारम्भिक रूपमा दैनिक प्रयोगका केही महत्त्वपूर्ण बङ्गाली शब्द र वाक्यहरू सिक्न गैर-बङ्गाली जवानहरूलाई भनिएको छ। बाटो वा ठेगाना सोध्दा, परिचय बुझ्दा वा कुनै सहयोग माग्दा बङ्गाली भाषामा कुरा गर्न सकून् भन्ने उद्देश्यले प्रशिक्षण दिइँदैछ। भाषा बुझ्नमा कुनै समस्या नहोस् भन्ने कुरामा सबैभन्दा बढ़ी ध्यान दिइएको प्रशासन स्रोतले जनाएको छ। नाम उल्लेख गर्न नचाहने जिल्ला प्रशासनका एक अधिकारीले भने, मतदानका बेला साधारण नागरिकसित सद्भाव कायम राख्न अत्यन्त आवश्यक छ। यसमा भाषा महत्त्वपूर्ण माध्यम हो। जवानहरूले बङ्गाली भाषा सिके मतदान सञ्चालनमा धेरै सहज हुनेछ।
सन् 2021 को विधानसभा निर्वाचनमा शीतलकुचीको जोरपाटकी 5/126 नम्बर बूथमा केन्द्रीय बल र मतदाताबीच विवाद भएपछि गोली चल्दा चारजनाको मृत्यु भएको घटनाले राज्य राजनीतिमा ठूलो हलचल मच्चाएको थियो। यस्ता भुल बुझाबुझ फेरि कुनै पनि स्थितिमा नदोहोरियोस् भन्ने सुनिश्चित गर्न आयोगले प्रयास गरिरहेको छ।

By Paromita