जल्दापाड़ा राष्ट्रिय निकुञ्ज प्राधिकरणले अन्तरराज्य काठ तस्कर गिरोहलाई उदाङ्गो पारेको छ। बिहीवार राति लगभग 3 बजी गोप्य सूचनाको आधारमा जल्दापाड़ा दक्षिण रेञ्जका वनकर्मीहरूले अलिपुरद्वारको पुटिमारी मोड़मा अभियान सञ्चालन गरेर एउटा ट्रकसितै अर्को वाहनलाई नियन्त्रणमा लिए। उक्त वाहनमा खयर काठ फेला परेको थियो। वनकर्मीहरूअनुसार उक्त काठ तस्करी गर्ने प्रयास भइरहेको थियो।
अभियानका क्रममा धेरै परिमाणमा खयर काठ जफत गरियो। यस घटनामा छजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्तिहरू क्रमैले यश पाल (53), मोहम्मद सोहेल (31), स्वपन दास (34), सोहेल राना (24), मनु कुमार (25) र रोहित (23) हुन्। तीमध्ये मनुको घर बिहारमा छ। यश र रोहित हिमाचल प्रदेशका वासिन्दा हुन्। पक्राउ परेकाहरूले प्रयोग गरेका दुवै वाहनलाई जफत गरिएको छ।
प्रारम्भिक जाँचमा पक्राउ परेका यी व्यक्तिहरू असम, पश्चिम बङ्गाल, हिमाचल प्रदेश, बिहार तथा बङ्गलादेश सीमावर्ती क्षेत्रमा फैलिएको एक सुव्यवस्थित अन्तरराज्य तस्करी सञ्जालका सदस्यहरू रहेका जानकारी प्राप्त भएको छ। उक्त सञ्जालमार्फत महँगो काठ तस्करी गरिने आरोप छ। जल्दापाड़ा राष्ट्रिय निकुञ्जका डीएफओ परवीन काशोवानले भने, तस्करी सञ्जालका अन्य सदस्य तथा सम्बन्धित कड़ीहरूको पहिचान गर्न थप जाँच जारी छ। पक्राउ परेका व्यक्तिहरूलाई केरकार गरिँदैछ।
काठ तस्कर गिरोह पक्राउ
