मा क्याण्टिनको लोकप्रियता चरममा

मुख्यमन्त्री ममता ब्यानर्जीको मा क्याण्टिनको लोकप्रियता निरन्तर बढ़िरहेको छ। प्रशासनिक सूत्रअनुसार एक वर्षमा सिलगढ़ीका सातवटा क्याण्टिनमार्फत पाँच रुपियाँमा 5 लाख 45 हजार 337 प्लेट अण्डा–भात वितरण गरिएको छ। अर्थात् 2024-25 को तुलनामा 2025-26 आर्थिक वर्षमा प्लेटको सङ्ख्या लगभग एक लाखले वृद्धि भएको छ। विधानसभा चुनाउ नजिकिँदै गर्दा यसले तृणमूल कङ्ग्रेसद्वारा सञ्चालित सिलगढ़ी नगर निगम उत्साहित भएको छ। नगर निगमले शहरमा थप एउटा क्याण्टिन सञ्चालन गर्ने योजना बनाएका छन्। साथै नगर निगमले तीनवटा क्याण्टिनको पूर्वाधार स्तरोन्नतिको योजना पनि बनाएको छ।
मुख्यमन्त्रीका उत्कृष्ट सामाजिक परियोजनामध्ये मा क्याण्टिन पनि एक हो। राज्यका अन्य क्षेत्र जस्तै उत्तर बङ्गालको वाणिज्य नगरी सिलगढ़ीमा पनि उक्त परियोजना सफलतापूर्वक सञ्चालनमा रहेको छ। उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल, सिलगढ़ी जिल्ला अस्पताल, 33 नम्बर वार्डको लेकटाउन, 36 नम्बर वार्डको शान्ति मोड़ बौबजार, एनजेपी रेल स्टेशननजिक, 18 नम्बर वार्डको पुरानो बसस्ट्याण्ड र सिलगढ़ी जङ्क्शनमा क्याण्टिनहरू सञ्चालनमा रहेका छन्। नगर निगम सूत्रअनुसार, 2024-25 आर्थिक वर्षमा यी क्याण्टिनहरूबाट पाँच रुपियाँमा लगभग 4 लाख 40 हजार प्लेट खाना वितरण गरिएको थियो। मेनुमा भात, दाल र अण्डाको झोल समावेश थियो। 2025-26 आर्थिक वर्षमा ती क्याण्टिनहरूबाट 5 लाख 45 हजार 337 प्लेट खाना वितरण गरिएको छ। अर्थात् एक वर्षमा प्लेटको सङ्ख्या एक लाखभन्दा बढ़ी वृद्धि भएको छ।
नगर निगमका उपमेयर रञ्जन सरकारले भने, सम्बन्धित क्याण्टिनहरूमा ठूलो सङ्ख्यामा मानिसहरू निर्भर छन्। सातवटा महिला स्वनिर्भर समूहको सहयोगमा क्याण्टिनहरू सञ्चालन भइरहेका छन्। व्यापक लोकप्रियता प्राप्त भइरहेको छ। यस परियोजनामा नगर निगमले 54 लाख 53 हजार रुपियाँ अनुदान प्रदान गरेको छ। सम्बन्धित क्याण्टिनहरूको माग बढ़ेपछि नगर निगम उत्साहित भएको छ। थप केही क्याण्टिन सञ्चालन गर्ने योजना बनाइएको छ। नगर निगम सूत्रअनुसार, हाल सञ्चालनमा रहेका क्याण्टिनमध्ये उत्तर बङ्गाल मेडिकल कलेजको क्याण्टिनमा सबैभन्दा बढ़ी माग रहेको छ। त्यहाँ दैनिक 500 भन्दा बढ़ी प्लेट खाना वितरण हुन्छ। सिलगढ़ी जिल्ला अस्पतालको क्याण्टिनबाट दैनिक 200 प्लेट, शान्तिनगर बौबजारमा दैनिक 300 प्लेट वितरण गरिन्छ। अन्य क्याण्टिनहरूबाट पनि दैनिक 200 देखि 250 प्लेटसम्म खाना वितरण हुँदछ। उपमेयरले भने, शहरका विभिन्न स्थानमा मा क्याण्टिनको माग रहेको छ। यसपल्ट सुभाषपल्ली मार्केट कम्प्लेक्स परिसरमा एउटा क्याण्टिन स्थापना गरिनेछ जसलाई 2026-27 आर्थिक वर्षको बजेटमा स्वीकृति समेत प्राप्त भइसकेको छ।

By Paromita